नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता

२१ कार्तिक २०८१, बुधबार १४:२३

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि मन्त्रालयले दर्ता गरेको हो ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*