सूचीकृतमध्ये १२ हाइड्रोपावरद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिँदैछन् ?
काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका ९१ वटा हाइड्रोपावरमध्ये १२ वटा हाइड्रोपावरहरुले लाभांश घोषणा गरेका छन् । जसमा केही हाइड्रोपावरले उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् भने केही हाइड्रोपावरहरुले वार्षिक साधारण सभा आह्वान गरेका छन् ।
गत आर्थिक वर्ष २०८०।०८१ मुनाफाबाट हालसम्म रु रु जलविद्युत, भगवती हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सीईडडिबी हाइड्रोपावर, बिन्द्याबासीनि हाइड्रोावर, अपि पावर, सुपरमादी हाइड्रोपावर, साहज उर्जा लिमिटेड, मन्दाकिनी हाइड्रोपावर, सगरमाथा जलविद्युत र अरुण भ्यालीले लाभांश घोषणा गरेका हुन् ।
रु रु जलविद्युतले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७८ प्रतिशतसहित १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, भगवती हाइड्रोपावरले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर समेत) र चुक्तापूँजीको ४ प्रतिशतले बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
सुपरमाई हाइड्रोपावरले शेयरधनीको लागि १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।
त्यस्तै, माण्डु हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोेनश शेयर र विन्ध्यावासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
अपि पावर कम्पनीले ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ । यो सँगै सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत नगद र ०.२६३ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।
साहज उर्जा लिमिटेडले ८ प्रतिशत बोनश र ०.४२ नगदसहित ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनश र ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युतले बोनश र नगदसहित ५ प्रतिशत र अरुण भ्यालीले ३.०१५७ प्रतिशत लाभांश घोषणा गरेको छ ।