जनसचेतन सहकारीको अर्बौ घोटाला काण्डः अध्यक्ष चौलागाईं अमेरिका भागे, बचत दुरुपयोग गर्ने श्रेष्ठलाई कार्यबाहक अध्यक्ष
काठमाडौं । सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको थप रहस्य खुलेको छ ।
संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं आफ्नै पदाधिकारीहरुले गरेको बदमासीको जिम्मा लिन नसकेपछि कार्यकाल बाँकी छँदै आफ्नो दायित्व भूलेर अमेरिका फरार भएका छन् भने सहकारीबाट आफ्नो नाममा ऋण लिएर अर्कैलाई लगानी गर्ने पूर्व प्राध्यापक गोपालध्वज श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको खुलेको हो ।
भित्रभित्रै साधारण सभा गरेर कार्यसमिति बनाइए पनि हिनामिनाको विवादले पदाधिकारीको शपथ समेत हुन सकेको छैन । गोपालेश्वर क्याम्पसका पूर्व प्राध्यापक एवं एमालेका जिल्ला नेता श्रेष्ठ आफैं सहकारीको रकम अपचलनमा फसेका व्यक्ति हुन् । कार्यकाल बाँकी छँदै अमेरिका छिरेका चौलागाईंले आफु व्यक्तिगत कामको शिलशिलामा अमेरिका हिँडेको बताए पनि संस्थाभित्रको हिनामिनाको दायित्व बहन गर्न नसक्ने भएपछि भागेको बताइएको छ ।
कार्तिक १९ गते भ्रष्टाचारविरुद्ध डार्क फाइल अभियान चलाइरहेका राजकुमार तिमिल्सिनाले जनसचेतनसहित दोलखाका केही सहकारीमा २ अर्ब ६४ करोड बढी रकम अपचलन भएको भन्दै फेसबुकमा सिपाडोलको प्लटिङ प्रयोजनार्थ भएको बैना पट्टा कागजसहित सार्वजनिक गरिदिएका थिए ।
तिमिल्सिनाले एसियाकै टप सहकारी भनेर सहकारीको अन्तर्राष्ट्रिय फोरममा समेत चिनिएको दोलखा बैतेश्वर गाउँपालिका-५ मा प्रधान कार्यालय रहेको जनसचेतन सहकारीका करिब ४० हजार बचतकर्ताको २ अर्ब २५ करोड ६० लाखसहित अन्य सहकारीसमेतको २ अर्ब ६४ करोड बढी रकम हिनामिना भएको र त्यसमा एमाले, एकीकृत समाजवादी तथा प्राध्यापक एवं वुद्धिजिवीहरुसमेतको संलग्नता रहेको भनी फेसबुकमा तथ्य सार्वजनिक गरेका थिए ।
त्यसको काउण्टरमा भोलिपल्ट कार्तिक २० मा जनसतेतनका प्रमुख कार्यकारी अधिकृत सीईओ नवराज दहाल र कार्यबाहक अध्यक्ष गोपालध्वज श्रेष्ठले संयुक्तरुपमा एक वक्तव्य जारी गरेर ध्यानाकर्षणसहितको स्पष्टीकरण दिए । तिमिल्सिनाले त्यसको जवाफमा जनसचेतनको बचत अपचलन र पदाधिकारी एवं सदस्यहरुले गरेको गैरकानूनी गतिविधिको छानविनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको जानकारी सार्वजनिक गरेका छन् ।
जनसचेतन भित्रैबाट बीमापोष्टलाई प्राप्त जानकारी अनुसार सिपाडोलको प्लटिङ प्रकरण कै रिसाक्सनको रुपमा हिनामिनाबारेको तथ्य बाहिरिएको हो । पहिले यो प्रकरणमा संस्थाका स्थायी चालक रामकाजी मिजारलाई बर्खास्त गरिएको थियो । संस्थाकै पदाधिकारी स्वयंको संलग्नतामा सिपाडोलमा जग्गा प्लटिङ गर्ने प्रयोजनका लागि विना धितो सुरुमा ३ करोड ऋण प्रवाह गरेको जनसचेतनले त्यसपछि पनि सोही प्रयोजनका लागि झण्डै ९ करोड ऋण प्रवाह गरेको बुझिएको छ । तर, अहिलेसम्म न सिपाडोलमा प्लटिङ भएको छ भने न त्यसरी लिइएको ऋण नै चुक्ता भएको छ ।
संस्थाका तत्कालीन सचिव कमल दहाल, पूर्व सहसचिव नारायण प्रसाख दहाल, कोषाध्यक्ष भरत केसी लगायतले आफ्नो नाममा ऋण लिएर प्लटिङमा रकम हालेका थिए । उनीहरुले त्यति मात्रै गरेनन् । संस्थामा काम गर्ने कर्मचारीलाई समेत प्लटिङका क्रममा घडेरी छुट्याइदिने प्रलोभनमा पारेर प्लटिङ्का लागि डोजर लगाउन भन्दै दामासायी रुपमा, ५ लाख, ८ लाख, १० लाख रकम उठाएका थिए । त्यसरी प्रलोभनमा परी डोजर लगाउन भन्दै ५ लाख नगद दिने चालक रामकाजी मिजार पनि थिए ।
उनले पछि आफुले दिएको रकम फिर्ता माग्दा ज्यान मार्नेसम्मको धम्की आएपछि फेसबुकमा स्टाटस लेखेर विषय सार्वजनिक गरेका थिए । फेसबुकमा स्टाटस लेखेर संस्थाको बदनाम गरेको भन्दै उनलाई एक पल्ट पनि सफाइको मौका नदिई सीईओ नवराज दहाल र अमेरिका फरार अध्यक्ष हेमन्त कुमार चौलागाईले जागिरबाट निकालिदिएका थिए । पछि उनी आफ्नो बर्खास्तीविरुद्ध श्रम अदालत गएपछि पुर्नबहाली भएका छन् । पुर्नबहाली भएको ६ महिनासम्म पनि चालक रामकाजीले त्यतिबेला दिएको ५ लाख रकम फिर्ता पाएका छैनन् भने उनलाई फेरि पनि दुःख दिने कार्य जारी रहेको संस्थाका एक पदाधिकारीले बताए ।
वैतेश्वर-५ मैनावोखरीमा प्रधान कार्यालय रहेको जनसचेतले १७ वटा शाखा कार्यालय खोलिसकेको छ भने काभ्रे, भक्तपुर, काठमाडौं र ललितपुर महानगरसमेतलाई आफ्नो कार्यक्षेत्र बनाएको छ । काठमाडौं उपत्यकाका लागि जडिबुटीमा पहिल्यै शाखा राखेको जनसचेतन सहकारीको कुल वासलात दुई अर्ब ६८ करोड रहेको बताइएको छ । मोवाइल बैंकिङसहित आधुनिक प्रणाली समेत विस्तार गरिसकेको उसले विशेष गरेर काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखालीहरुलाई सुविधा दिन आउटलेट विस्तार गरेको बताइन्छ ।
जनसचेतनका प्रमुख कार्यकारी एवं सीईओ नवराज दहालले सामाजिक सञ्जालमा सार्वजनिक भएको सिपाडोल प्लटिङ सम्बन्धी बैना पट्टा काजगमा उल्लेख राजमजी दहाल संस्थाको साधारण सदस्य तथा ऋणी भएको स्वीकारेका छन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा पोष्ट्याइएको बैना पट्टा कागजमा जनसचेतनको नाम जोडिएको र त्यसमा उल्लेख रामजी दहाल हाम्रो साधारण सदस्य रहेको कुरा साँचो हो । तर, हाम्रा सदस्यहरुले संस्थाबाट ऋण लिएर लगानी गर्न सकिने कुरा नियम संगत नै छ । र, धितो मूल्याङ्कन भन्दा १०० प्रतिशत ऋण प्रवाह गरेको भनी गरिएको प्रचार गलत हो । हामीले राष्ट्र बैंकको निर्देशन बमोजिम नै पहाडी क्षेत्रमा धितोको कुल मूल्याङ्कनको ४० प्रतिशत भन्दामाथि ऋण प्रवाह गरेका छैनौं ।’
४० प्रतिशतभन्दा माथि ऋण नदिएका कारण र ऋण लिएर पनि समयमा तिर्न नआएका कारण ताकेता गर्दा रिसाएकाहरुको समूहको उक्साहटले अहिले जनसचेतनविरुद्ध गलत प्रचार भएको जिकिर सीईओ दहालले गरेका छन् । उनका अनुसार जनसचेतनमा एक अर्ब ९८ करोड रुपैयाँ बचत रहेको एक अर्ब ६८ करोड रुपैयाँ मात्रै ऋण लगानी गरेको अवस्था छ । अहिलेको अवस्थामा पनि बचत कर्ता रकम फिर्ता माग्न नआएको र आएको खण्डमा आफुहरुले कसैलाई रित्तो हात फिर्ता नपठाउने उनले बताए । सीईओ दहालले अगाडि भने, ‘अहिले हामीसँग ६५ देखि ७० करोड रुपैयाँ लिक्विडिटी थुप्रिएर बसेको अवस्था छ । लगानी गर्ने ठाउँ छैन । बचतकर्ताले फिर्ता मागे कुनै समस्या नै छैन । बरु हामीले तरलता व्यवस्थापन गर्न संस्थागत शेयर फिर्ताको लागि पत्राचार गर्न थालिरहेका छौँ ।’
जग्गा प्लटिङमा लगानी भएको सन्दर्भमा समेत उनले संस्थाका सदस्यहरुलाई ऋण प्रवाह गरिएको र उक्त ऋण मध्ये केही चुक्ता भइसकेको तथा केही चुक्ताको नियमित प्रक्रियामा रहेको जवाफ दिएका छन् ।
सम्बन्धि समाचार
One thought on “जनसचेतन सहकारीको अर्बौ घोटाला काण्डः अध्यक्ष चौलागाईं अमेरिका भागे, बचत दुरुपयोग गर्ने श्रेष्ठलाई कार्यबाहक अध्यक्ष”