अन्तराष्ट्रिय बजारमा शाखा कार्यालय विस्तार गर्ने तयारीमा हिमालयन रि इन्स्योरेन्स
काठमाडौं । अन्तराष्ट्रिय बजारमा हिमालयन रि इन्स्योरेन्सको शाखा कार्यालय विस्तार गर्ने तयारीमा लागेको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीले नेपाल बाहिर चार देशहरुमा शाखा कार्यालय सञ्चालन गर्ने तयारी गरेको हो । कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा कार्यालय सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
प्रारम्भिक चरणमा चार वटा मुलुकमा कम्पनीले शाखा विस्तार गर्ने तयारी गरेको हो । शाखा कार्यालय सञ्चालनका लागि नियामकिय निकाय र सम्बन्धीत देशबाट पनि अनुमति पाईसकेको छ।
हिमालयन रिले रेटिङ्ग एजेन्सी एएम वेस्टबाट बिप्लस रेटिङ्ग प्राप्त गरेको छ । कम्पनीले स्थापनाको चौथो वर्षमा नै भारतको नियामकीय निकाय आइआरडिएआइबाट भारतको पुनर्वीमा व्यवसाय लेख्न आवश्यक एफआरएन प्राप्त गरेको छ ।
निजी क्षेत्रको बहुस्वामित्वमा रहेको यो पुनर्बीमा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेको छ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको छ ।
२०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा अवस्थित छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो ।बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल हुन् ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा रहेका छन् । हिमालयन रि–इन्स्योरेन्स नेपालमा खुलेको दोस्रो पुनर्बीमा हो भने पूर्णरुपमा निजी क्षेत्रको लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीले नेपाल तथा विदेशमा रहेका लाइफ र ननलाइफ इन्स्योरेन्स, लघुबीमा कम्पनीहरूलाई पुनर्बीमा सेवा उपलब्ध गराइरहेको छ ।