ठूला व्यापारीदेखि मन्त्रीका कम्पनीले गरे ओटीसीमा करोडौं कर छली, होला अनुसन्धान ?
काठमाडौं । ठूला व्यापारीदेखि मन्त्रीका कम्पनी तथा व्यवसायिक फर्महरुले शेयर बजारमा पुँजीगत लाभकर छली गरेको रहस्य खुलेको छ । त्यस्ता विभिन्न ६० कम्पनीले शेयर कारोबारमा पुँजीगत लाभकर छली गरेको भन्दै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग दुबैले छानविनको तयारी गरेका छन् ।
विभागले ‘ओभर द काउण्टर’ (ओटीसी) बजारबाट हुने शेयर कारोबारमा पुँजीगत लाभकर छली भएको आशंका गरेको छ । धितोपत्र बोर्डका पूर्व पदाधिकारीहरुले यसअघि नै पहुँचवाल कम्पनीहरुले ओटीसीमा कम मूल्याङ्कन गरेर कर छल्ने गरेको जनाउ दिएका थिए । ओटीसी कारोबारलाई अन्तर्राष्ट्रिय स्टान्डर्डमा लगेर व्यवस्थित नबनाएसम्म पुँजीगत लाभकर छली हुने जोखिम पर्याप्त रहने तर्क उनीहरुको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका शेयर कारोबारको पुँजीगत लाभकरसँग कर कार्यालयहरु प्रत्यक्ष नजोडिने र नेप्से स्वयंले ओटीसीको पुँजीगत लाभकर उठाउने भएका कारण त्यसैको फाइदा उठाएर ठूला व्यापारीदेखि मन्त्री, सांसदका कम्पनीहरुले लाभकर छली गर्ने गरेका बताइन्छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले ओटिसीबाट शेयर किनबेच अनिवार्य गरेपछि पछिल्लो समय ओटिसी कारोबार बढेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार गएको आर्थिक वर्ष ०८०/८१ मा ६३ कम्पनीले पाँच अर्ब चार करोड रुपैयाँबराबरको कारोबार गरेका थिए । जुन ओटिसी बजार सुरु भएयताकै ठुलो कारोबार हो । सुरुवाती वर्ष ०७३/७४ मा २५ कम्पनीको २४ करोड कारोबार भएको रेकर्ड छ ।
आन्तरिक राजस्व विभागले कारोवारीले करको दायरा पूरा गरे नगरेको, कर कार्यालयमा बुझाएको कर विवरण र नेप्सेलाई तिरेको करमा तलमाथि भए नभएको देखि विभिन्न कोणबाट अनुसन्धान गर्न लागेको विभागका महानिर्देशक रामप्रसाद आचार्यले बताएका छन् ।
०८०/८१ मा ६३ ओटिसीमा शेयर किनबेच गर्ने मध्ये आन्तरिक राजस्व विभागले ६० कम्पनीको विवरण मागेर छानबिन गर्ने तयारी गरेको छ । जसमा ठूला व्यापारीको लगानी रहेको बन्दीपूर केबलकारदेखि हालका उर्जामन्त्री दीपक खड्काको लगानीमा हालै सञ्चालनमा आएको होटेल फरेस्ट इनसम्म छन् ।
यस्तै, अल फुड्स इन्डस्ट्री, अन्नपूर्ण केबलकार, अपोलो हाइड्रोपावर, अवसर इक्विटी, बिजनेस इन्ट्रेस्ट ग्रुप इन्डस्ट्रिज, चण्डेश्वरी महादेवखोला पावर, चितवन फुड इन्डस्ट्रिज, इलेक्ट्रो पावर, एभरेस्ट ग्यास उद्योग, एभरेस्ट हस्पिटालिटी होटेल, गरिमा क्यापिटल, गार्जाङ उपत्यका पावर र हाइलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिज छन् । यसैगरी, हिल्टन हाइड्रो, हिमरिभर पावर, हिमशिला पावर कम्पनी, काबेली हाइड्रोपावर, म्याक्स भिजन, मेडिकेयर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हस्पिटालिटी एन्ड होटेल, श्री डिस्टिलरी, स्नो रिभर, सोपान मल्टिपल, टक्सार पिखुवा खोला हाइड्रोपावर, त्रिवेणी इन्टरनेसनल कलेज र याम्बालिङ हाइड्रोपावरले प्रतिकित्ता एक सय रुपैयाँ शेयर किनबेच गरेका छन् । यस्तै, एग्रो कमर्स नेपालको प्रतिकित्ता १००.३७ रुपैयाँमा शेयर किनबेच गरेको छ ।
प्रतिकित्ता एक सयदेखि दुई सय रुपैयाँमा किनबेच भएका कम्पनीहरू २९ वटा छन् । जसमा मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा किनबेच भएको देखाएको छ । अन्नपूर्ण केबलकार र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको बन्दीपुर केबलकारले १४० रुपैयाँमा शेयर किनबेच गरेको देखिएको छ । अवसर इक्विटीले १५० रुपैयाँमा कारोबार गरेको छ ।
अल्फा क्यापिटल, बरुण इन्भेस्टमेन्ट, भरतपुर सामुदायिक अस्पताल, बिओके क्यापिटल मार्केट, चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट, आइएमई डिजिटल सोलुसन, जगदम्बा स्पिनिङ मिल्स, जनज्योति एजुकेसन फाउन्डेसन कञ्चनपुर, ज्योति क्यापिटल, काठमाडौं मेडिकल कलेज, खोलाङ हाइड्रोपावर, लक्ष्य क्यापिटल, लक्ष्य होल्डिङ्स, लाफा ग्रुप, लक्ष्मी स्टिल्स, मेडिकेयर हस्पिटल, मेरोजब, माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल जलविद्युत् प्रवद्र्धन तथा विकास, ओभरसिज नेप्लिज इन्भेस्टमेन्ट कम्पनी, पाल्पा सिमेन्ट, सोपान मल्टिपल कम्पनी, ट्रेड टावर र त्रिशक्ति सेक्युरिटिजको शेयर दुई सय रुपैयाँ प्रतिकित्तासम्ममा किनबेच भएको देखिन्छ ।
तर, नेसनल फुड म्यानेजमेन्टले प्रतिकित्ता ५२.४३ रुपैयाँ र ग्रिन गोर्खा इनर्जी १० रुपैयाँमै शेयर कारोबार गरेको तथ्यांक छ । यसैगरी, ११ कम्पनीको शेयर किनबेच र दुई सय रुपैयाँभन्दा बढी मूल्यमा भएको देखिन्छ ।
काठमाडौं मेडिकल कलेजले र मौलाकालिका केबलकारले तीन सय रुपैयाँमा शेयर किनबेच गरेका छन् । एनआइसी एसिया क्यापिटल ५५० रुपैयाँ र सबैभन्दा बढी मूल्यमा वर्ल्ड लिंक कम्युनिकेसनले शेयर विक्री गरेको देखिन्छ । जसको शेयर मूल्य प्रतिकित्ता नौ हजार ३७५ रुपैयाँ कायम भएको देखिन्छ ।
काठमाडौं फरेस्ट्री कलेजले दुई पल्ट दुई मूल्यमा कारोबार गरेको भेटिएको छ । एक पटक एक हजार २०.७७ रुपैयाँ र अर्काेपटक एक हजार ८५.५ रुपैयाँमा कारोबार भएको देखिएको हो । लर्डबुद्ध एकेडेमीले ५४० रुपैयाँमा शेयर किनबेच गरेको छ । लिटमस इन्डस्ट्रिज २९ रुपैयाँ, डियरवाक ग्रुप २५०, सिआन सीड सर्भिसेज सेन्टर २४५ रुपैयाँ र पाल्पा सिमेन्टले २३२ रुपैयाँमा शेयर कारोबार गरेको नेप्सेले जनाएको छ । कतिपय कम्पनीले फरक-फरक मूल्यमा शेयर किनबेच गरेका छन् ।