७ वाणिज्य बैंकको लाभांश घोषणा, एभरेष्ट र सिटिजन्सको सभाबाट पारित, अन्य कुनले कति दिदैछन् ?
काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका १९ वटा वाणिज्य बैंकहरुमध्ये ७ वटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । जसमा केही बैंकहरुले उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् भने केही बैंकले वार्षिक साधारण सभा आह्वान गरेका छन् ।
गत आर्थिक वर्ष २०८०।०८१ मुनाफाबाट हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, नबिल बैंक, स्ट्याण्टर्ड चार्टड बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएर्म बैंकले लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक र सिटिजन्स बैंकले प्रस्तावित लाभांश वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेको छ । जसमा एभरेष्ट बैंकले घोषणा गरेको १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश दशैं अगाडि नै शेयरधनीको खातामा जम्मा गरिसकेको छ ।
बैंकले दशैँ अघि नै वार्षिक साधारण सभा सम्पन्न गरेर आफ्ना लगानीकर्ताको दशैँलाई उत्साहमय बनाउन सहयोग गरेको एक लगानीकर्ताले बताए ।
त्यस्तै, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश आफ्नो वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बैंकले वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाईसकेको बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले जानकारी दिए ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने निर्णय गरेको हो ।
नबिल बैंक
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति शेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट शेयरधनीहरूलाई कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
स्ट्याण्डर्ड चार्टर्ड
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैकको यहि कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।
बैंकहरुले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र सम्बन्धित बैंकहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउने व्यवस्था रहेको छ ।