तिहारले कालिमाटीमा महंगियो तरकारीको मूल्य
काठमाडौं । तिहार पर्वका कारण बाहिरबाट तरकारी आयात नभएपछि राजधानी काठमाडौंको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी थोक बजारमा मूल्य केही महंगिएको छ ।
कालिमाटी तरकारी बजार विकास समितिका अनुसार सागहरुको मूल्य बढेको छ । त्यस्तै, हरियो तरकारीको मूल्य पनि सामान्य बढेको छ । आजबाट तरकारी पूर्ववत रुपमा आउन थालेपछि मूल्य घट्ने विश्वास गरिएको छ । आज तरकारीको माग समेत निकै न्यून रहेको छ ।
सानो गोलभेडा प्रतिकेजी ६५, ठूलो गोलभेडा प्रतिकेजी ८५ रुपैयाँमा बिक्री भएको छ । टनेलको सानो गोलभेडा १००, रातो आलु ८७.६७, सेतो आलु ६७.६७, प्याज १०६.५०, गाजर १५५, बन्दा ३५, स्थानीय काउली ११५, तराईको काउली ९५, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ७५, तने बोडी १२५ रुपैयाँ प्रतिकेजीका दरले बिक्री भएको छ । त्यस्तै, मटरकोशा १५०, घिउसिमी ४५, टाटे सिमी ९५ र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
आजको मूल्यसूचि अनुसार लौंका ४५, परवल ५५, चिचिण्डो ४५, घिरौला ३५, पाकेको फर्सी ३५ र हरियो फर्सी लाम्चो ४५ रुपैयाँ हरियो फर्सी डल्लो ५५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । त्यस्तै, भिण्डी ४५, बरेला ६५ स्कुस २५, रायो साग ९०, पालुङ्गो साग १७६.७६, चमसुरको साग १७६.६७, तोरीको साग ८५, कन्ये च्याउ १३०, डल्ले च्याउ ३२६, राजा च्याउ २९०, ब्रोकाउली १७३ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।