अरुण भ्याली हाइड्रोपावरको लाभांश साधारण सभाबाट पारित
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ । होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले गत कात्तिक ५ गते बुक क्लोज गरेको थियो। तसर्थ, कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाबलाई छलफल गर्दै पारित गर्नुका साथै अर्को आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण पनि गरेको हो।
यसैगरी, लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।