शेयर बजारको बढोत्तरीले बैंकहरुलाई फाइदाः कारोबारबाट हुने कमाई ५१.६३ प्रतिशतले बढाए, कस्को आम्दानी कति ?

१६ कार्तिक २०८१, शुक्रबार ११:३०

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट सवा २ अर्ब रुपैयाँ संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट २ अर्ब १३ करोड ६९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको हुन् ।

बैंकहरुले शेयर बजारबाट गरेको आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा ५१.६३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुको शेयर बजारबा हुने आम्दानी १ अर्ब ४० करोड ९३ लाख १० हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो समय शेयर बजार आएको सुधारले बैंकहरुलाई फाइदा पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमन भएयता एक महिना बजारले उछाल देखिएको थियो । जसको फाइदा बैंकहरुले समेत लिएका छन् ।  सात वटा बैंकको यस्तो आम्दानीमा गिरावट आएको छ भने अन्य बैंकहरुले बढाएका छन् ।

केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई चुक्ता पुँजीको १ प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न अनुमति दिएको छ। यस प्रावधानअनुसार बैंकहरूले सेयर बजारमा गरेको लगानीलाई नेट ट्रेडिङ आम्दानीमा समावेश गर्नुपर्नेछ, जसले गर्दा यस माध्यमबाट बैंकहरूले थप आम्दानी गरेका छन्।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कृषि विकास बैंकले शेयर बजारबाट सबैभन्दा बढी ३३ करोड ७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको शेयर बजारबाट हुने आम्दानी ३ करोड ५ लाख ७४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

यसअवधिमा शेयर बजारबाट सर्वाधिक आम्दानी गर्ने दोस्रो नम्बरमा सानिमा बैंक रहेको छ । बैंकको आम्दानी २२.११ प्रतिशतले बढेर १८ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १५ करोड ४० लाख रुपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, शेयर बजारबाट सर्वाधिक आम्दानी गर्ने तेस्रो नम्बरमा रहेको नबिल बैंकले १७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३३.५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको शेयर बजारबाट हुने आम्दानी १२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा शेयर बजारबाट प्रभु बैंकले १७ करोड २९ लाख ३० हजार, ग्लोबल आइएमई बैंकले १६ करोड ९८ लाख २५ हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ करोड २१ लाख ३८ हजार, एभरेष्ट बैंकले १२ करोड ७ लाख ८८ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ करोड २५ लाख र हिमालयन बैंकले ९ करोड ८३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

शेयर बजारबाट हुने आम्दानी सर्वाधिक बढाउने बैंकमा सिटिजन बैंक रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकले आम्दाननी २१५७ प्रतिशतले बढाएर ७ करोड ९८ लाख ६२ हजार रुपैयाँ पुराएको छ । नेपाल एसबिआई बैंकले पनि ६९३.७९ प्रतिशत बढाएर ५ करोड १२ लाख ६ हजार, नेपाल बैंकको ३१५.०८ प्रतिशत बढाएर ५ करोड २४ लाख ३९ हजार र लक्ष्मी सनराइजको पनि १२८.१९ प्रतिशत बढाएर ७ करोड २९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको शेयर बजारबाट हुने आम्दानी १ करोड ८ लाख ६२ हजार रुपैयाँ ऋणात्मक छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*