कर्मचारी विवाद मिलाउन नसक्दा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय, तीन महिनामा २६ करोड नोक्सानीमा
काठमाडौँ । मर्जरपछि कर्मचारीहरुको विवादलाई मिलाउन नसक्दा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय बनेको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विभिन्न वित्तीय सूचांकहरुमा भारी गिरावट आएको छ ।
समीक्षा अवधिमा लघुवित्त २६ करोड ११ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । गत वर्ष भने १ करोड ९० लाख नाफा कमाएको थियो । समयमा नै कर्मचारी विवादहरु मिलायर व्यवस्थित रुपले कर्जा अशुल गर्न नसकेको अवस्थामा लघुवित्तको अवस्था दयनीय बनेको छ ।
संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ५१ लाखबाट बढेर २७ करोड पुगेको छ । यसअवधिमा नेरुडे मिर्मिरेले २६ करोड ५२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । यसको खराब कर्जा बढेर १६.१४ प्रतिशत पुगेपछि नोक्सान व्यहोरेको देखिन्छ । गत वर्ष भने खराब कर्जा ५।५२ प्रतिशत रहेको थियो ।
यसअवधिमा कम्पनीको निक्षेप संकलन सामान्य बढेको छ भने र कर्जा लगानीमा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने ९४.१९ प्रतिशतले बढेको छ । यो लघुवित्त प्रतिसेयर ७४.३३ रुपैयाँ नोक्सान (वार्षिक) मा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.९५ रुपैयाँ छ ।