अमेरिकाबाट के सन्देश लिएर आए अर्थमन्त्री पौडेल ?

१५ कार्तिक २०८१, बिहीबार १२:१२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताएका छन् । अमेरिकामा आयोजित विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर अमेरिकाबाट स्वदेश फर्किएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताएका हुन् ।

विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अर्थमन्त्री पौडेलले अलग-अलग भेटवार्ता गरेको जानकारी समेत दिए । उनले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता समेत गरेको बताएका छन् ।

विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको मन्त्री पौडेलले सुनाए ।

जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफुले अनुरोध गरेको अर्थमन्त्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई बताए ।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । कात्तिक ५ गते अमेरिका गएका पौडेललाई विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*