रास्वपा डोटीद्वारा सहकारी पीडितहरूको न्याय र राजनीतिक प्रतिसोधको विरुद्ध शान्तिपूर्ण नागरिक र्याली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले आज जिल्ला सभापति केशव बलायरको नेतृत्वमा सहकारी पीडितहरूको न्याय र राजनीतिक प्रतिसोधको विरोधमा शान्तिपूर्ण नागरिक र्याली निकालेको छ। डोटीको प्रमुख बजार क्षेत्रमा र्यालीमा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सरकारको कामकारबाहीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै, ठूला भ्रष्टाचारका काण्डहरूमा मुछिएका शक्तिसाली व्यक्तिहरूलाई जोगाउन खोजेको आरोप लगाए। उनीहरूले सहकारी पीडितहरूको मुद्दामा सरकार उदासिन बनेको र न्यायका लागि सडकमै आउन बाध्य पारिएको बताए।
सभापति बलायरले र्यालीलाई सम्बोधन गर्दै सरकार सहकारी पीडितहरूको समस्या समाधानमा असफल भएको र ठूला भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूलाई जोगाउनको लागि अनेक प्रयास गरिरहेको आरोप लगाए। बलायरका अनुसार, सहकारी संस्थाहरूले करिब ८७ अर्ब रुपैयाँ अपचलन गर्दा पनि सरकारले सहकारी पीडितहरूको पक्षमा ठोस कदम चाल्न सकेको छैन। “सहकारी पीडितहरूलाई न्याय दिलाउन सरकार चुकिरहेको छ, जबकि ठूला भ्रष्टाचारमा संलग्न नेताहरूलाई जोगाउन लागिपरेको छ,” उनले भने।
कार्यक्रममा बलायरले भुटानी शरणार्थी काण्ड, वाईवाडी काण्ड, गरिबन्धु काण्ड, ओम्नि काण्डजस्ता ठूला भ्रष्टाचारका मुद्दाहरूमा सत्तासीन नेताहरूको नाम जोडिएको भए पनि उनीहरूलाई संरक्षण गरिरहेको सरकारको नीति प्रति कटाक्ष गरे। “सत्तासीन नेताहरूको भ्रष्टाचारलाई ढाकछोप गर्न सरकारले विपक्षी पार्टीलाई राजनीतिक प्रतिसोधको निसाना बनाएको छ। विशेषगरी रा.स्व.पा सभापतिलाई विना प्रमाण हिरासतमा राखेर जनताको ध्यान भङ्ग गर्न खोजिएको छ,” उनले भने।
सभापति बलायरले सहकारी पीडितहरूको मुद्दालाई न्यायिक निष्कर्षमा पुर्याउन सरकारले ठूला भ्रष्टाचारमा संलग्नलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। “जबसम्म सहकारी पीडितहरूले आफ्नो धन फिर्ता पाउँदैनन्, हाम्रो सडक आन्दोलन रोकिने छैन। जनताले सडकमै आएर सरकारलाई दबाब दिनुपर्ने अवस्था सिर्जना भएको छ,” उनले थपे।
सभापति बलायरले सहकारी पीडितहरू र न्याय प्रेमी जनताहरूलाई सडकमा आउन आह्वान गर्दै सत्तासीन दलहरूलाई सचेत गराए। “यदि अहिलेको संसदिय व्यवस्थामा सुधार नभएमा प्रत्यक्ष कार्यकारी व्यवस्थाको माग गर्दै जनताले सडकमा आउनुपर्ने देखिन्छ, र यसको नेतृत्व आम युवाहरूले गर्नेछन्,” उनले भने।
डाेटीका स्थानीय बासिन्दा, सहकारी पीडित तथा अन्य नागरिकले समेत कार्यक्रमको समर्थन गर्दै, वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले भ्रष्टाचारविरुद्धको रा.स्व.पाको शून्य सहनशीलता अभियानलाई समर्थन गर्दै, पुराना दलहरूको नेतृत्वले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजेको टिप्पणी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले सम्पूर्ण सहकारी पीडितहरू र भ्रष्टाचारविरुद्ध आवाज उठाउने न्यायप्रेमी जनतालाई सडक आन्दोलनमा सहभागी हुन आव्हान गर्दै, देशव्यापी अभियानलाई अझै सशक्त बनाउने संकल्प लिएको छ।