पुँजी बजारमा हरियालीः सूचक र कारोबारमा रौनक, बुलको यात्रा तय भएको हो ?

१३ कार्तिक २०८१, मंगलवार १५:०६

काठमाडौँ । आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । आज बजारमा समेत सुधार देखिएको हो ।

सोमबार र मंगलबारको कारोबारमा शेयर बजारमा हरियाली छाएको छ । लगानीकर्तामा सकारात्मकता पुनः जागेको देखिन्छ, विशेष गरी बजार सूचक र कारोबार रकम विस्तारै वृद्धि भइरहेको छ । दुई दिनको हरियालीले नेप्सेलाई सकारात्मक लयमा लैजाने संकेत दिए पनि यो लय कति टिकाउ छ भन्ने चाहिँ अझै निर्धारण गर्न कठिन छ ।

हाल बैंक निक्षेपको ब्याजदर तल्लो बिन्दुमा पुगेको छ, जसले निक्षेपकर्तालाई बैंक निक्षेपको साटो शेयर बजारमा लगानी गर्न थप आकर्षित गरेको छ । ब्याजदर एकल अंकमा झरिरहेकोले बैंकमा रकम राख्नुभन्दा शेयर बजारतिर ध्यान केन्द्रित गर्न उपयुक्त मान्न थालिएको छ ।

बजारका हल्लामा ध्यान दिनुभन्दा कम्पनीहरुको मुनाफा, लाभांश क्षमतामा अध्ययन गरी लामो समयका लागि लगानी गर्नु राम्रो हुन्छ । यस किसिमको विवेकशील लगानीले दीर्घकालीन लाभ प्राप्त हुने सम्भावना अधिक हुन्छ । समग्रमा, बैंक–वित्तीय संस्थाहरुले प्रथम त्रैमासमा मुनाफा बढाएको वित्तीय प्रतिवेदन सार्वजनिक गरिरहेका छन् र नीति नियमहरु पनि क्रमशः शेयर बजारमैत्री बन्दै गएका छन् । लाभांश वितरणको सिजन चलिरहेकोले समेत बजारमा सकारात्मक गति रहेको देखिन्छ ।

राजनीतिक स्थिरता र तिहारको लागि बिक्री दबाब घटेसँगै अब बजारले थप बलियो हुने अपेक्षा गरिएको छ । सरकार स्थायित्वका लागि सत्तारूढ दलहरुबीचको सहमतिले लगानीकर्ताको मनोबल थप सुदृढ गरेको छ । शेयर बजारसँग सम्बन्धित नियामक निकायहरुको भूमिका पनि जिम्मेवार रहेको देखिन्छ, जसले बजारलाई गति दिनमा सकारात्मक भूमिका खेलिरहेको छ । विशेषगरी ठूला लगानीकर्ताहरुको बजारमा प्रवेशले पनि कारोबारमा रौनक ल्याएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.६० प्रतिशत, विकास बैंक समूहको २.३२ प्रतिशत, फाइनान्स समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज २२१ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्र घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*