वित्तीय सूचकमा बलियो बन्दै गुराँस लघुवित्त, मुनाफा ९८८ प्रतिशतले वृद्धि हुँदा ईपीएस कति ?
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड वित्तीय सूचांकहरुमा बलियो बन्दै गैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तका खुद नाफा, ब्याज आम्दानी, सञ्चालन मुनाफा लगायतका सूचकमा उल्लेख्य बृद्धि भएको छ ।
असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा ९८८ प्रतिशतले बढाएर एक करोड एक लाख ६२ हजार रुपैयाँ पुगाउँन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले नौ लाख ८८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४२ प्रतिशत बढेर तीन करोड १४ लाख १० हजार रुपैयाँ पुगेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा एक करोड २९ लाख ७५ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, गुराँस लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ११२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यस अवधिमा संस्थाले एक करोड ९४ लाख ४४ हजार रुपैयाँ उक्त आम्दानी गरेकोमा यस वर्ष चार करोड १२ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३५ रुपैयाँ नौ पैसा रहेको छ । साथै, लघुवित्तको मुल्य आम्दानी अनुपात ४७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ३६ प्रतिशत रहेको छ ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा तीन करोड ७० लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तले एक अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।