आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

१३ कार्तिक २०८१, मंगलवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दैछ । केन्द्रीय बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले आज २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने जनाएको छ । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिनेछ । सुनको असर्फीको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने भएको छ ।

सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्नको लागि आज बिहानदेखि नै राष्ट्र बैंकको टक्सार कार्यालयमा आम सर्वसाधारणको भिड लागेको छ ।

यसैगरी राष्ट्र बैंकले १० तथा २५ ग्रामको चाँदीको सिक्का आइतबारदेखि नै बिक्री गर्न थालेको छ । कार्तिक १४ गतेसम्म सिक्का बिक्री हुने केन्द्रीय बैंकले जनाएको छ। चाँदी सिक्काको मूल्य तौल र डिजाइन अनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ ।

सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*