नेपालगञ्जमा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न

१२ कार्तिक २०८१, सोमबार ०७:४४

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय नेपालगञ्जले ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ। कात्तिक ९ र १० गते गरी दुई दिनसम्म सञ्चालन गरिएको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाका ३० जना ग्रामीण उद्यम कर्जा हेर्ने फोकल पर्सनहरूको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन सत्रमा बोल्दै शाखा प्रवन्धक विशाल कुमार तुलाधरले सहकारीहरूले ग्रामीण समुदायमा उद्यम परियोजना सञ्चालन गर्न विपन्न तथा साना किसानलाई प्रोत्साहित गर्नुपर्ने बताए। उनले सहुलियत कर्जाको सुविधा प्रदान गरेर ग्रामीण समुदाय, विपन्न वर्ग र साना किसानको आर्थिक अवस्था सुधार गर्न सहकारीहरूले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

तालिममा वरिष्ठ अधिकृत राम जनक चौधरीले ग्रामीण उद्यम कर्जाको परिचय, उद्देश्य, प्रक्रिया र व्यवसायिक योजनाले मात्र व्यवसाय सफल हुने बताएका थिए। उनले कर्जा विश्लेषणको महत्व र यसले कर्जाको गुणस्तरमा पार्ने सकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिएका थिए।

सहजकर्ता अनुज के.सी.ले आफ्नो अनुभव साझा गर्दै ग्रामीण उद्यम कर्जा व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षहरूबारे प्रष्ट पारे। उनले धितो मूल्यांकन, कर्जा लगानीपूर्वको विश्लेषण, सदस्यको आय व्ययको वास्तविक अवस्थाको अध्ययन र व्यवसायिक योजना बनाउने प्रक्रियामा कर्जा प्रवाह गर्दा कर्जाको गुणस्तर उच्च रहन सहयोग पुग्ने बताए।

त्यसैगरी, सहजकर्ता भिष्मलाल चौधरी र राजन थापाले व्यवसाय स्थापना गर्दा सदस्यहरूसँग निरन्तर भेटघाट गर्न, हौसला प्रदान गर्न र उच्च सम्भावना बोकेका परम्परागत व्यवसायलाई व्यावसायिक बनाउन सहयोग गर्नुपर्ने बताए।

तालिमको समापन समारोहमा शाखा प्रवन्धक तुलाधरले एसियाली विकास बैंक (एडीबी) जस्तो अन्तर्राष्ट्रिय संस्थाले विश्वासका साथ सुम्पिएको परियोजनालाई सफल बनाउने जिम्मेवारी साना किसानहरूमाथि रहेको बताए। उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै शाखा कार्यालयले हरेक प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरे।

चालु आर्थिक वर्ष २०८१/८२ को लागि साना किसानलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्दै ग्रामीण उद्यम व्यवसायको खोजी गर्ने, परम्परागत व्यवसायलाई व्यवसायिक बनाउने, र प्रविधिको प्रयोग गरेर मासिक प्रगति अनुगमन गर्ने प्रतिवद्धतासहित तालिम सम्पन्न भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*