नयाँ बीमित थपिएसँगै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२% ले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

११ कार्तिक २०८१, आईतवार १८:४३

काठमाडौं । नयाँ बीमितहरु थपिएसँगै चालु आर्थिक वर्षको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे सात अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् ।

बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय १२.२० प्रतिशतले बृद्धि भएको छ । आर्थिक संकट र राजनीतिक अस्थिरताका बाबजुत पनि बीमा क्षेत्रको व्यवसायमा उत्साह देखिएको छ ।

गत आवको तीन महिनामा जम्मा पाँच अर्ब ७१ करोड ९६ लाख रुपैयाँको प्रथम बीमा व्यवसाय गरेका बीमा कम्पनीहरुले चालु आवको सोही अवधीमा सात अर्ब ५३ करोड ९५ लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् ।

तीन महिनाको अवधिमा नेपाल लाइफले सबैभन्दा बढी नयाँ व्यवसाय आर्जन गरेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ९० करोड चार लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन १९.३० प्रतिशतले बृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकको आधारमा

यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ पर्न सफल भएको छ । सो कम्पनीले एक अर्ब १० करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रथम बीमा शुल्क २२ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, तेस्रो नम्वरमा परेको हिमालयन लाइफले ५९ करोड ६९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १२.९० प्रतिशतले बढी हो ।

यस अवधिमा सुर्यज्योति लाइफले ५८ करोड ३९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको प्रथम बीमा शुल्क व्यवसाय पनि १२.४३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, एलआईसी नेपालले ५१ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा सिटिजन लाइफले ४४ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३५ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

तीन महिनाको अवधीमा एशियन लाइफले ३५ करोड २३ लाख, सानिमा रिलायन्सले ३४ करोड १६ लाख, मेट नेपाल लाइफले ३२ करोड २४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २९ करोड ५६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २६ करोड १६ लाख रुपैयाँ र आइएमई लाइफले २४ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । कम्पनीको नयाँ व्यवसाय गत आर्थिक वर्षको तुलनामा १८५ प्रतिशतले बढेर ३५ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*