तीन महिनामा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन करिब ३३ अर्ब, कुन कम्पनीले कति भित्र्याए?

११ कार्तिक २०८१, आईतवार १६:२१

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क गत वर्षको तुलनामा ३.४० प्रतिशतले घटेको हो । गत वर्ष असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए ।

पहिलो त्रैमाससम्मको अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब १ करोड रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको असोज महिनासम्मको तुलनामा ७.०८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९ अर्ब ३५ करोड नविकरण बीमा शुल्क आर्जन गरेको हो ।

नविकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनासम्ममा कम्पनीले ४ अर्ब ५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.३६ प्रतिशतले बढी हो ।

त्यस्तै, नेशनल लाइफको नविकरण बीमा शुल्क आर्जन १४.०८ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँ, हिमालयन लाइफको ४.४२ प्रतिशतले घटेर ३ अर्ब ६८ करोड, सूर्यज्योति लाइफको ४.१९ प्रतिशतले बढेर १ अर्ब ८५ करोड, एशियन लाइफको ५.९० प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा सिटिजन लाइफको नविकरण बीमा शुल्क १५.६५ प्रतिशतले बढेर १ अर्ब २५ करोड, सानिमा रिलायन्सको १.२४ प्रतिशतले घटेर १ अर्ब १८ करोड, मेट लाइफको ५.३४ प्रतिशतले बढेर १ अर्ब ११ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीको ७४ प्रतिशतले घटेर १ अर्ब १ करोड, प्रभु महालक्ष्मीको ९४ करोड ४४ लाख, आइएमई लाइफको १८.२२ प्रतिशतले बढेर ९० करोड, रिलायबल नेपालको २५.७३ प्रतिशतले बढेर ८६ करोड र सन नेपाल लाइफको ७.३७ प्रतिशतले बढेर ६२ करोड रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*