देश लुट्ने कार्यमा अघि बढे प्रतिष्ठित व्यापारीहरु, बिजुलीको शुल्क नतिर्न सेटिङ

११ कार्तिक २०८१, आईतवार १५:१०

काठमाडौं । ‘लुट्न सके लूट कान्छ, लुट्न सके लूट’ भन्ने गीतसँग ठ्याक्कै मेल खानेगरी चरम राजनीतिक दोहन भएको देशमा अहिले व्यापारीहरुले समेत दोहनका लागि राजनीतिक दलको फेर समात्न पुगेका छन् ।

पशु्पति शर्माले गाएको उक्त गीतकै शैलीमा यतिबेला देशका ठूला व्यापारीहरुले लोडसेडिङको समयमा जनतालाई अध्यारोमा राखेर बिजुली प्रयोग गरे बापतको विद्युत महसुल नतिरेर राज्यको लगानी भएको प्राधिकरण दोहन गर्ने कार्य जारी राखेका छन् । २०७० सालदेखिको बक्यौता अझै नतिर्न अनेकन तिकडम र प्रपञ्च गर्दै हिडिरहेका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले दुई दिन पहिले बक्यौता महसुल नतिर्ने उद्योगहरुको विजुलीको लाइन काटिदिएका थिए ।

बिजुलीको लाइन प्राधिकरणले काटिदिएपछि बक्यौता महसुल तिर्नुको साटो व्यापारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पुगेका छन् । आज विहान प्रधानमन्त्रीलाई भेटेका उनीहरु के के कुरा गरे सो कुरा त बाहिर आएको छैन । तर, प्रधानमन्त्री ओलीले विद्युत महसुलको दीर्घकालिन समाधान निकाल्ने धारणा बाहिर ल्याएका छन् ।

व्यापारीहरुले जब जब लाइन काटिन्छ, तब महसुल तिर्नुको साटो उल्टै प्रधानमन्त्री र मन्त्रीसँग मिलेर सेटिङ गरी लाइन खोल्ने काम गर्दै आएका छन् । यस पटक पनि व्यापारीहरुको समुहको प्रभावमा परेर उर्जा मन्त्री र प्रधानमन्त्रीसम्मै मिलेर मन्त्रिपरिषदबाटै विद्युत लाइन खोलिदिन व्यापारीहरुले प्रयास तीव्र पारेका छन् । स्मरणरहोस्, यसअघि पनि प्रचण्ड नेतृत्व सरकारका पालामा उर्जा मन्त्री शक्ति बस्नेत र प्रधानमन्त्रीसँग मिलेर मन्त्रिपरिषदबाट निर्णय गराई काटिएको लाइन खोल्न बाध्य पार्न सफल भएका छन् ।

 

यसअघि लाइन काटिँदा पनि महसुल नतिर्ने उद्योगीहरुले प्रधानमन्त्रीसँग भेटेर लाइन खोलिदिन सेटिङ हानेका थिए । प्रचण्ड प्रधानमन्त्री भएको बेलामा पनि लाइन काटिने वित्तिकै प्रधानमन्त्री निवासमै पुगेर भेटवार्ता गरी लाइन खोल्न बाध्य पारेका व्यापारीहरुले अहिले लाइन काट्ने वित्तीय प्रधानमन्त्री केपी शर्मा ओलीको दैलोमा पुगिसकेका छन् । गरिब र समस्यामा परेका जनताले प्रधानमन्त्री भेट्न चाहेमा बर्षौसम्म कुर्नुपर्ने समस्या छ । तर, राजनीतिक पार्टीहरुलाई ठूलो मात्रामा चन्दा दिने र भाटभटेनीका मिन बहादुर गुरुङ जसरी अर्बौ रुपैयाँ दान दिनसक्ने हैसियत भएका व्यापारीहरुले पशुपति शर्माको गीत झै लुट्न सके लूट कान्छ लूट भन्ने शैलीमा देश लुट्न सक्रिय भइसकेका छन् ।

विद्युत महसुल नतिरेका व्यापारीहरुले आजै पत्रकार सम्मेलन गरेर विद्युत प्राधिकरणका विरुद्धमा विष बमन गर्न लागेका छन् । अहिले हलमा चलिरहेको छक्कापञ्जामा पत्रकारको गोजीमा पैसाको बिटो थमाएपछि बोली फेरिए झै पार्न पत्रकार सम्मेलन गर्न लागिएको हो कि भन्ने अर्को आशंका उत्पन्न भएको छ ।

विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार उद्योगीहरुले करिब ६० अर्ब रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी छ । नाम चलेका २५ भन्दा बढि उद्योगहरुले लोडसेडिङको समयमा प्रयोग गरेको विद्यु्त महसुल नतिरी सरकारी लगानीको प्राधिकरणलाई लुट्ने प्रयास गरिरहेका छन् । महालेखा परिक्षकको कार्यालयले अडिटको क्रममा विद्युत महसुल बापत २१ अर्ब ८८ करोड रुपैयाँ बक्यौता उठाउनुपर्ने लिखित प्रतिवेदन सरकारलाई दिएको थियो ।

उता, भ्रष्टाचार पृष्ठभूमि भएका उर्जा मन्त्री दीपक खड्काको भूमिका यसमा झनै शंकास्पद रहँदै आएको छ । व्यापारीसँग चन्दा उठाउन माहिर र लैनचौरस्थित नेपाल स्काउटको जग्गामा भ्रष्टाचार गरेको आरोप लागेका तर राजनीतिक कारणले छानविन नै नभएकोले आरोप प्ष्टि हु्न बाँकी रहेका दीपक खड्का अहिले उर्जा मन्त्री बनेर काम गरिहेका छन् ।

भ्रष्टाचारी पृष्ठभूमिका मन्त्रीले व्यापारीहरुलाई विद्युत महसुलको बक्यौता तिर्न आग्रह गर्लान वा व्यापारीसँगै मिलेर पशुपति शर्माको गीत झै लूट्न सके लूट कान्छा…. गर्लान त्यो भने हेर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*