दशैंपछिका आठ शेयर कारोबारः उतार–चढावले कारोबारमा अस्थिरता, राजनीतिक अनिश्चितताको असर कति ?

१० कार्तिक २०८१, शनिबार ०९:००

काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा उतार–चढावको स्थिति देखिएको छ। दशैंपछि खुलेको बजारमा लगातार घटबढ भैरहेको छ भने राजनीतिक अस्थिरता र सरकार परिवर्तनको आशंका, आर्थिक नीतिमा आएको परिवर्तन, तथा प्रमुख संस्थाहरुको गतिविधि जस्ता विषयहरूले शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको छ।

बजारमा अहिले कायम रहेको अस्थिरताको मुख्य कारण वर्तमान राजनीतिक परिदृश्यमा देखिएको अनिश्चितता हो। हाल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति धेरै लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन्, विशेषगरी अर्थमन्त्री विष्णु पौडेलको भूमिकालाई लगानीकर्ताले सकारात्मक रूपमा लिएको पाइन्छ। यसमा सरकार र नियामक निकायहरुबीचको समन्वयले पनि लगानीकर्तामा भरोसा पैदा गरेको छ। तथापि, पछिल्लो समय सरकार गठबन्धनको मुख्य दलहरु नेपाली कांग्रेस र एमालेबीच विवाद बढेको हल्ला सार्वजनिक भएपछि, सम्भावित सरकार परिवर्तनको डरले बजार प्रभावित भएको देखिन्छ।

दशैंपछि आठ दिनको कारोबार अवधिमा बजार चार दिन उकालो लाग्दा चार दिन ओरालो लागेको छ। असोज २९ गते दशैंपछि खुल्दा बजार ३१.४८ अंकले उकालो लागेर नेप्से सूचक २६९९ बिन्दुमा पुगेको थियो। तथापि, बिहीबारसम्म आइपुग्दा परिसूचक घटेर २६२७ बिन्दुमा झरेको छ। समग्रमा यसबीचमा बजार ४१ अकंले घटेको हो । कारोबार रकममा पनि निरन्तर गिरावट देखिनुले लगानीकर्ता अन्योलमा परेको आभास भएको छ ।

हालै विभिन्न बैंक र वित्तीय संस्थाहरुले आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्, जसमा धेरै संस्थाले मुनाफा बढाएको देखिएको छ। तर, यस्तो प्रतिवेदनका बाबजुद शेयर बजार भने घट्दो क्रममा छ, जसले गर्दा आम लगानीकर्तामा अन्योलता थपिएको छ। यसबाट धेरै लगानीकर्ताले बजारको समग्र दिशाबारे फेरि विचार गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्।

विश्लेषकहरुका अनुसार नेप्सेले उच्च विन्दुको यात्रा तय गर्दा यस्ता करेक्सनहरु सामान्य हुन्छन्। बजारमा छोटो अवधिमा नाफा बुक गर्न चाहने लगानीकर्ताहरुको सक्रियताले पनि बजार घटेको अनुमान गरिएको छ। यद्यपि, बजारले फेरि गति लिने र आगामी दिनमा वृद्धि हुने विश्वास धेरै लगानीकर्ताले गरिरहेका छन्। हाल नेप्से सूचक २६०० बिन्दुको आसपासमा घुमिरहेको भए पनि समग्रमा कम्पनीहरुले नाफा बढाउँदै आएका छन्।

यस्तो अवस्थामा बजार निरन्तर घट्नुपर्ने ठोस कारण भने देखिंदैन। हाल बजारमा भइरहेको करेक्सनलाई धेरैले स्वभाविक र नियमित चक्रकै रूपमा व्याख्या गरेका छन्। यस्तै, नाफा बुक गर्न चाहने लगानीकर्ताहरु हावी भएकाले बजारमा गिरावट आएको भन्ने विश्लेषकहरुको तर्क छ। यसै बीच, नेपाल राष्ट्र बैंकले बैंकहरुको मुनाफा वृद्धिमा सहयोग पुर्याउने निर्देशनहरु जारी गरेको छ भने बैंकहरुमा तरलताको अवस्था पनि पर्याप्त देखिएको छ।

अहिले बजारमैत्री नीतिहरु क्रमशः आउँदैछन् र बैंकहरुको मुनाफा बढ्ने वातावरण समेत बनाइएको छ। ब्याजदरमा गिरावट आएको र लाभांश वितरणको सिजन सुरु भइसकेकोले पनि पुँजी बजारलाई समर्थन मिलिरहेको छ। तर ठूला र संस्थागत लगानीकर्ताले खरिदक्रम तीव्र नगरेसम्म बजारले गति लिन नसक्ने धेरैको धारणा छ।

हाल बजार समग्रमा साइडवेजमै रहेको र नेप्से २६०० को लाइनमै घुमिरहेको अवस्थामा रहेको छ। ठूला लगानीकर्ताहरु खरिदमा आक्रामक नबनेकाले साना लगानीकर्ताहरुले पनि आन्तरिक संयम देखाएका छन्। तथापि, धेरैको विश्वासमा यो अस्थिरता स्थायी होइन र आगामी दिनमा बजार फेरि वृद्धि हुनसक्ने सम्भावना रहन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*