कुलमानले उद्योगको लाइन काटेपछि के भने उर्जामन्त्री खड्काले ?

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन
९ कार्तिक २०८१, शुक्रबार १०:५४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चरम लोडसेडिङका बेला २४ घण्टा विद्युत उपभोग गरेको ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता नबुझाउने ३४ वटा उद्योगको लाइन काटेपछि उर्जामन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयका सचिव तथा मातहतलाई निर्देशन दिइसकेको बताए । बीमापोष्टसँग टेलिफोन संवाद गर्दैै मन्त्री खड्काले भने, ‘यहाँ एउटा-एउटा पन्ना लिएर बस्ने र बखेडा झिक्ने चलन छ । लाल आयोगले १३ अर्ब चानचुन प्राधिकरण आफैंले लोडसेडिङ् छैन भनी घोषणा गरेपछिको रकम भएको र त्यसअघिको ६ अर्ब ४० करोड र त्यसको पेनाल्टी गरेर हुन आउने ८ अर्ब बक्यौता हुन आउने भएपनि उपयुक्त निर्णय लिन भनी सिफारिस गरेको अवस्था मात्रै हो । उद्योगी व्यवसायीहरु त्यही पन्नालाई समातेर बसिरहेका छन् भने प्राधिकरण बच्चा किडन्याप गरेर फिरौंती माग्ने शैलीले प्रस्तुत भइरहेको छ । दुबै ठीक होइन ।’

बिहीबार विहान बसेको सञ्चालक समितिको बैठकमा लेखा समितिको निर्णय पर्खिने कुरा भएकामा प्राधिकरणले आफुसँग सल्लाह नगरी लाइन काटेको मन्त्री खड्काले बताए ।

उनले भने, ‘संसदको सार्वजनिक लेखा समितिमा यसबारे छलफल हुने क्रममा छ । लेखा समितिको छलफलसम्म कुरौँ भन्ने कुरा भएको थियो । अर्कोतिर यति लामो समयसम्म किन बक्यौता नउठाएको ? २२ अर्ब बक्यौता हुनु पर्नेमा अहिले आठ अर्ब कसरी भयो ? लगायतका कुराहरु पनि बैठकमा उठेका थिए । र, अर्कोतर्फ यो सबैको निक्र्योल गर्ने जिम्मा प्राधिकरण स्वयंको भएको कुरामा कुनै विवाद छैन ।’

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले प्राविधिक रुपमा सबै निक्र्योल गरेर उपयुक्त निर्णय लिनु भनी सिफारिस गरेको थियो भने व्यापारीहरु त्यसैलाई समातेर बसिरहेका छन् । प्राधिकरणले पोख्ता आधार दिन नसकेको भनी संसदको सार्वजनिक लेखा समितिमा समेत सांसदहरुबीच मतमतान्तर छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*