सिंगो बीमा क्षेत्र स्तब्ध, ‘अल विदा श्रवण रावल सर’ ! ३६ वर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेका रावल सिईओ कुर्सीमै अस्ताए

नबराज न्यौपाने
८ कार्तिक २०८१, बिहीबार १९:५१

काठमाडौं । हिजो राति अबेरसम्म काठमाडौंको होटल सोल्टीमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा विदेशी पाहुनासँगै रमाइरहेका युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावललाई यति छिट्टै नियतीले यसरी बिछोड गराउला भन्ने कसैले पनि सोचेका थिएनन् ।

 

यही कार्तिक ५ गतेदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन नेपाली बीमाकर्मीहरुका लागि कुम्भ मेला झै भइरहेको थियो । दिनभरको भ्याई नभ्याई, छलफल, बहसमा व्यस्तता र कार्यालयको काम दुवै भ्याएर साँझ दुई पुनर्बीमा कम्पनीले आयोजना गरेको गाला डिनर पार्टी सोल्टी होटलमा आयोजना गरिएको थियो ।

 

स्वदेशी बीमाकर्मी र विदेशीसँग रमाउँदै सो पार्टीमा सहभागी भएका सिईओ रावलले आफू बिरामी भएको छनक एक रत्ति पनि नदेखाएको समकक्षीहरु बताउँछन् । १० बजेसम्म अनुभव आदान प्रदानसहित चलेको पार्टीमा रावल सक्रिय रुपमा सहभागी थिए । राति १०ः३० बजेतिर केही साथीहरुलाई घर पुगेर करिब ११ बजेतिर भक्तपुरको कौशलटारस्थित घर पुगेका रावल सामन्य रुपमै सुतेका थिए । राति १ बजेतिर असजिलो भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा पुर्याइएकोमा त्यही चिकित्सकहरुले निधन भएको घोषणा गरेका थिए ।

 

साँझ गफ र रमाइलो गर्दै फोटो खिचेका मित्रहरु आज विहान अचानक हृदयघात भएर देहत्याग गरिसकेको खवर सुनेर स्तब्ध बने । कैयौंले सामाजिक सञ्जाल फेसबुकमा लेखे, थुप्रै शुभचिन्तकहरु घरैमा पुगेर परिवारका सदस्यहरुलाई सान्त्वन्ना दिएका छन् ।

 

नेपाली बीमाकर्मीमात्रै होइन, विदेशी बीमाकर्मीहरुले समेत सिईओ रावललाई चीर शान्तिको कामना गर्दै श्रद्धान्जली अर्पण गरे । म्यूनिख रि फाउण्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डले लिङ्कइनमा निधन सम्बन्धी समाचार शेयर गर्दै दुःख व्यक्त गरेका छन् । रावलले नेपाली बीमाकर्मी मात्र नभई विदेशीको समेत मन जितेर संसारबाट विदा लिएका छन् ।

 

नियामक बीमा प्राधिकरणदेखि हरेक बीमा कम्पनीका कर्मचारीहरु आज स्तब्ध र मुड अफमा देखिन्थे । अधिकांश ठाउँमा स्व. रावलकै कुरा भइरहेको थियो । बीमा क्षेत्रमा सन्नाटा छाएको थियो र सबै स्तब्ध भएका थिए ।

२०२१ सालमा सुदुरपश्चिम स्थित अछाम जिल्लामा जन्मिएका रावल पढाईमा निकै मेहनती छात्र थिए । भारतमा अध्ययन सम्पन्न गरी नेपाल आएर २०४५ सालमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीबाट सहायक एसिस्टेन्ट पदमा भर्ना भएका थिए । करिब २०५५ सालतिर नेको इन्स्योरेन्समा एसिस्टेन्ट पदमा भर्ना भएका रावल त्यहाँ करिब २२ वर्ष काम गरेका थिए । नेको इन्स्योरेन्समा महाप्रबन्धक पदसम्म पुगेर काम गरेका रावल त्यसपछि जोडिए सगरमाथा इन्स्योरेन्स कम्पनीमा । त्यहाँ डेपुटी सिईओ भएर काम गरेका थिए । लगत्तै प्रुडेन्सियल इन्स्योरेन्समा सिईओ बने । उक्त कम्पनी डेढ वर्ष अघि मर्जरमा गएपछि रावल फेरि युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीमा २०८० जेठ २३ गतेदेखि लागू हुने गरी सिईओ नियुक्त भए ।

 

जीवन सुरुवाती करिअर (सहायक असिस्टेन्ट) देखि बीमा क्षेत्रमा प्रवेश गरेका रावल अन्तिम पद सिईओसम्म पुगे । दुई कम्पनीको सिईओ पनि बने र सिईओ पदमा बहाल रहेकी बखत मृत्युवरण गरे ।

 

नेपालको बीमा क्षेत्रमा करिब ३६ वर्ष बिताएका रावल सबैका प्रिय थिए । मिजासिला र सरल व्यवहारका धनी रावल खासै ठूलो उपचार गराउनुपर्ने कुनै रोगको समेत सिकार भएका थिएनन् । तर, नियतीको खेल ३०० पाहुना उपस्थित भएर बीमा क्षेत्रकै इतिहासमा पहिलो पटक कुम्भ मेला चलिरहेको बेला विदेशी मित्रहरु समेत स्तब्ध हुने गरी विदा भएका छन् ।

 

बीमा क्षेत्रमा लामो समय बिताएका रावलको निधनले सिंगो बीमा क्षेत्र, युनाईटेड अजोड इन्स्योरेन्सलाई अपुरणीय क्षति पुगेको छ । बीमा क्षेत्रबाट केही लिने भन्दा पनि दिँदा दिँदै, महेनत गर्दागर्दौ सिईओकै कुर्सीमा हुँदा हुँदै मृत्युवरण गरेका पौरखी श्रवण रावल सरलाई, अल विदा ! अल विदा !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*