२० वाणिज्य बैंकमा जनताको निक्षेप ५८ खर्ब, कुन बैंकको निक्षेप कति ? (तथ्यांकसहित)

८ कार्तिक २०८१, बिहीबार १७:३०

काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा जनाताको ५८ खर्ब रुपैयाँ निक्षेप रहेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जनताहरुले फिक्स डिपोजिट, करेन्ट डिपोजिट लगायतका खातामा निक्षेप जम्मा गरेका हुन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल ५८ खर्ब ३९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६५ अर्ब ५० करोड रुपैयाँबाट ३.०७ प्रतिशतले बढेको छ ।

बैंकहरुको कर्जा लगानीको मुख्य स्रोत नै निक्षेप संकलन हो । सार्वसाधारणले गरेको बचतबाटै बैंक तथा वित्त कम्पनीले कर्जा लगानी गर्छन् । नेपालमा हालसम्म बैंकहरुले खासगरी करेन्ट डिपोजिट, सेभिङ डिपोजिट, कल डिपोजिट र फिक्स डिपोजिट गरी ४ प्रकारका निक्षेप खाता सञ्चालन गरिरहेको छन् ।

वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकहरुबीचहरुबीच निक्षेप संकलनमा तीब्र प्रतिस्प्रर्धा रहेको छ । यस अवधिमा चार वटा बैंकहरुले चार खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्न सफल भएका छन् ।

असोज मसान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेपा संकलन ५.२३ प्रतिशतले बढेर पाँच खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

साथै, नबिल बैंकले तीन महिनामा चार खर्ब ७९ अर्ब ४५ कराड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधिमा बैंकले चार खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ संकलन गरेको थियो । बैंकको निक्षेप संकलन ३.७६ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार खर्ब ३३ अर्ब ३२ करोड रुपैयाँ, सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि चार खर्ब १५ अर्ब ३० करोड रुपैयाँ, कुमारी बेंकले तीन खर्ब ४७ अर्ब २० करोड रुपैयाँ, एनआइसी एशिया बैंकले तीन खर्ब ३६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणमा आधारित

साथै, लक्ष्मी सनराइज बैंकले तीन खर्ब ३४ अर्ब ४५ करोड रुपैयाँ, हिमालयन बैंकले तीन खर्ब २६ अर्ब नौ करोड र प्रभु बैंकले तीन खर्ब चार अर्ब तीन करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यी बाहेकका अन्य वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब रुपैयाँभन्दा मुनी निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टड बैंकको निक्षेप संकलन सबैभन्दा कम रहेको छ । बैंकले यस अवधिमा एक खर्ब १३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकहरुको कर्जा लगानी गर्ने क्षमता कति छ भनेर थाहा हुने भनेको त्यो बैंकमा कति समयको लागि कति परिमाणमा मुद्दति निक्षेप संकलन छ भन्ने हो । यसले गर्दा बैंकहरुलाई दिर्घकालिन कर्जा प्रवाह गर्न सहज हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*