ईभीको आयातमा उच्च वृद्धि, तीन महिनामै २५ सयभन्दा बढी गाडी भित्रिए

८ कार्तिक २०८१, बिहीबार १४:०३

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएपछि यसको आयातमा पनि उल्लेखनीय वृद्धि भएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को असोजसम्म मात्र २५ सय १८ वटा ईभी गाडी नेपाल भित्रिएका छन्। यी गाडीहरूमा कार, जीप र भ्यान जस्ता विभिन्न प्रकारका सवारी साधनहरू समावेश छन्।

विशेषगरी, सवारी साधनको कूल क्षमताका आधारमा यी ईभीहरू विभिन्न ब्रान्डका रहेका छन्। विभागको रिपोर्ट अनुसार, ५० किलोवाट क्षमताका ७७२ वटा ईभी, ५१ देखि १०० किलोवाट क्षमताका १५ सय ८२ वटा र १०१ देखि २०० किलोवाट क्षमताका १५९ वटा गाडी भन्सार हुँदै नेपालमा आयात भएका छन्। यस्तै, २०१ देखि ३०० किलोवाटसम्मका ३ वटा र ३०० किलोवाट क्षमताभन्दा माथिका २ वटा गाडी पनि भित्रिएका छन्।

विभागले यी सबै गाडीको आयातमा ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको सामान भित्रिएको छ। त्यस्तै, सरकारले यसबाट ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। ईभी सवारीको बढ्दो लोकप्रियताका कारण सरकारले पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ, जसले गर्दा यी सवारी साधनहरूको प्रयोग र आयात दुवैमा उल्लेख्य वृद्धि भइरहेको छ।

ईभी गाडीहरूको आयात प्रायः भारत र चीनबाट हुने गरेको छ। ५० किलोवाट क्षमताका गाडीमध्ये यो तीन महिनामा चीनबाट ३९९ वटा र भारतबाट ३३७ वटा आयात भएका छन्। ५१ देखि १०० किलोवाट क्षमताका गाडीहरूमा भने चीनबाट १२ सय ८ वटा र भारतबाट ३७४ वटा गाडी भित्रिएका छन्।

त्यसैगरी, १०१ देखि २०० किलोवाट क्षमताका १५४ वटा गाडी चीनबाट, ४ वटा जर्मनीबाट र १ वटा अमेरिका बाट आयात गरिएको छ। २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा गाडी चीनबाट र १ वटा जर्मनीबाट आयात भएका छन् भने ३०० किलोवाटभन्दा माथिको क्षमताका २ वटा गाडी चीनबाट आयात गरिएको विभागले जनाएको छ।

यी तथ्याङ्कहरूले नेपालको ईभी बजार तीव्र गतिमा बढिरहेको पुष्टि गर्छ। नेपालमा ईभीको उत्पादन नभएकाले आयातमा निर्भरता रहेको छ। यद्यपि, ईभीको प्रयोगलाई सरकारले प्राथमिकता दिँदै आएकोले आयातमा वृद्धि भएको व्यवसायीहरूले बताउँदै आएका छन्। नेपालको सडकहरूमा ईभी गाडीहरूको उपस्थिति बढ्दै गएकोले आगामी दिनमा अझ बढी ईभी गाडीहरू भित्रिने अपेक्षा गरिएको छ। आवश्यक चार्जिङ स्टेसनलगायतको पूर्वाधार विकासमा सरकारले लगानी गरिरहेकोले यो क्षेत्र अझ प्रगति गर्ने देखिएको हो ।

नेपालमा पेट्रोल र डिजेलको मूल्यवृद्धिले पनि ईभीतर्फको आकर्षण बढाएको छ। ईभी सवारीको सञ्चालन खर्च अत्यन्त कम हुनु र प्रदूषण न्यूनीकरणमा यसले पुर्‍याउने योगदानका कारण उपभोक्ताहरू ईभीप्रति बढी रुचि देखाउन थालेका छन्। साथै, नेपालमा सार्वजनिक यातायातमा समेत विद्युतीय बसको प्रयोगलाई सरकारले प्राथमिकता दिँदै आएकोले यस क्षेत्रको बजारमा विस्तारका थप अवसरहरू देखिएका छन्।

यसबाहेक, ईभी गाडीहरूमा वृद्धि भएको कारणले सरकारलाई राजस्व संकलनमा समेत टेवा पुगेको छ। विद्युतीय सवारी साधनले आयातमा निर्भरता भए पनि इन्धनको आयात घटाउने सम्भावना रहेको भन्दै यसलाई दिगो विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अझै गाडि आयातका लागि बाधा गर्ने केही नीतिगत ब्यवस्थामा सुधार हुन सके नेपाली अटो बजार ईभीमय हुने तर्क ब्यवसायीहरुका रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*