राष्ट्रिय स्तरका विकास बैंकको नाफा ३६.५८% ले बढ्योः मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा, ज्योति लोभलाग्दो ग्रोथ

७ कार्तिक २०८१, बुधबार १०:२४

काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा आठ विकास बैंकले १ अर्ब ४६ करोड ४४ लाख ६५ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत आर्थिक वर्षको तुलनामा ३६.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा राष्ट्रिय स्तरका विकास बैंकले १ अर्ब ७ करोड २२ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यसअवधिमा सर्वाधिक धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले पहिलो त्रैमाससम्मको अवधिमा आफ्नो मुनाफा २३.१७ प्रतिशतले बढाएर २८ करोड १८ लाख १९ हजार रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २२ करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा वृद्धि गर्ने बैंकमा ज्योति विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकको नाफा १९७ प्रतिशतले बढेर १५ करोड ११ लाख ९० हजार रुपैयाँ पुराएको हो ।

समिक्षा अवधिमा गरिमा विकास बैंकको नाफा ५६.८२ प्रतिशतले बढेर २६ करोड ६ लाख रुपैयाँ, शाइन रेसुङ्गाको २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६.५७ प्रतिशतले बढेर २० करोड १९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको २९.१६ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा महालक्ष्मी विकास बैंकको नाफा मात्र घटेको हो । बैंकको नाफा सामान्य १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*