२० बैंकले तीन महिनामा कमाए १६ अर्ब, नबिल र ग्लोबल आईएमई सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो ?

७ कार्तिक २०८१, बुधबार ०९:३६

काठमाडौं । चालु आवको पहिलो तीन महिनामा बैंकहरुको वित्तीय विवरणमा उल्लेख्य सुधार भएको देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार २० बैंकले तीन महिनाको अवधीमा १६ अर्ब १८ करोड ९४ लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको मुनाफा २०.१८  प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधीमा यिनै बैंकहरुले जम्मा १३ अर्ब ४७ करोड रुपैयाँ मुनाफा कमाएका थिए । अर्थतन्त्र गतिशिल हुन थालेसँगै बैंकहरुको डुबेको ऋण उठ्न थालेपछि मुनाफामा बृद्धि देखिएको हो ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै मुनाफा कमाउने बैंकहरुको सूचिमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिलले मात्रै दुई अर्ब पाँच करोड रुपैयाँ मुनाफा कमाएको छ । बैंकको मुनाफा ३९.९७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

त्यस्तै, दोस्रो नम्वरमा ग्लोबल आइएमई बैंक रहेको छ । सो बैंकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको मुनाफा गत आवको तुलनामा २३.३६ प्रतिशतले बृद्धि भएको देखिएको छ । धेरै मुनाफा कमाउने बैंकहरुको सूचिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । सो बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, प्राइम बैंकले एक अर्ब २८ करोड, एनएमबी बैंकले एक अर्ब १४ करोड कमाएको छ भने एभरेष्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, अन्य करोड क्लवमा रहेर नाफा कमाउने कुमारी बैंकले एक अर्ब सात करोड, प्रभु बैंकले एक अर्ब चार करोड मुनाफा कमाएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले ८६ करोड, नेपाल एसबीआई बैंकले ८१ करोड, हिमालयन बैंकले ७२ करोड, नेपाल बैंकले ६० करोड, लक्ष्मी सनराईज बैंकले ५३ करोड, माछापुच्छ्रे बैंकले ५० करोड, सानिमा बैंकले ३९ करोड, सिद्धार्थ बैंकले ३८ करोड, सिटिजन बैंकले १९ करोड, कृषि विकास बैंकले १९ करोड, राष्ट्रिय बाणिज्य बैंकले १५ करोड र एनआईसी एसिया बैंकले ११ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

 

सबैभन्दा धेरै बृद्धि हुने बैंकहरु
पहिलो तीन महिनामा सबैभन्दा धेरै मुनाफा बृद्धि गर्ने बैंकहरुको सूचिमा पहिलो नम्वरमा सिद्धार्थ बैंक परेको छ । सो बैंकको मुनाफा ७९१ प्रतिशतले बृद्धि भएको छ । लक्ष्मी सनराईज बैंकको मुनाफा ४२०.५३ प्रतिशतले बृद्धि हुँदा कुमारी बैंकको मुनाफा ३०८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, कृषि विकास बैंकको मुनाफामा पनि व्यापक बृद्धि भएको छ ।

त्यस्तै, हिमालयन बै.क, राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन बैंक, एनआईसी एसिया बैंकको मुनाफा घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*