खुम्चियो हिमालयन बैंकको खुद नाफा, कस्ता छन् अन्य सूचकहरु ?

७ कार्तिक २०८१, बुधबार ०७:४२

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.२२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशतले घटेर २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ३ अर्ब १७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ संचालन मुनाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा २० प्रतिशतले बढाएर १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुराएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष ४.४३ प्रतिशत बढेर १७ अर्ब २५ करोड, निक्षेप १०.९५ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब ९ करोड र कर्जा तथा सापटी १.५७ प्रतिशत घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने खराब कर्जा ४.९८ प्रतिशत रहेको छ ।

यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा घटेर १३ रुपैयाँ ४२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*