ग्लोबल आइएमई बैंकको नाफा डेढ अर्ब माथि, खराब कर्जा घट्दा ईपीएसमा वृद्धि

७ कार्तिक २०८१, बुधबार ०७:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा झरेको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी ८.२९ प्रतिशतले घटेर ५ अर्ब २३ करोड ५८ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आवमा यस्तो नाफा १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ मात्रै थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा ०.२९ प्रतिशतले घटेर ४.६७ प्रतिशतमा झरेको छ । आधारदर २.७८ प्रतिशतले घटेर ७.२९ प्रतिशत कायम भएको छ । चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*