अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन छलफल हुने

६ कार्तिक २०८१, मंगलवार १७:५९

काठमाडौं । हिजोदेखि काठमाडौंमा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो छलफल हुने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा पाँच सय भन्दा बढि बीमा बिज्ञ तथा प्रतिनिधिहरु सहभागिता रहेको छ ।

पत्रकार सम्मेलनमा बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे व्यापक प्रचार प्रसार गरेर जनतामा बीमाको पहुँच बृद्धि पुर्याउन आग्रह गरे । अध्यक्ष सिलवालले नेपालमा बीमा क्षेत्रकै इतिहासमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा म्यूनिख रि फाउण्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डले न्यून आय भएका जनतामा बीमाबारे सचेतना जगाउन आवश्यक भएको बताए । उपाध्यक्ष रेनहार्डले बीमामा समावेशिता कायम गराउन मिडियाका उल्लेखनीय भूमिका हुने उल्लेख गरेका छन् । साथै बीमा कम्पनीहरुमाथि पनि गरिब र न्यून आय भएका जनतामाँझ बीमाको पहुँच पुर्याउन भूमिका खेल्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा माईक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो ओ चानले बीमा कम्पनीहरुले दावी भुक्तानी छरितो र झन्झटरहित बनाएर बीमितको मन जितेमा मात्रै बीमाप्रति आम जनताको विश्वास जित्न सकिने र बीमाको पहुँच देशका कुना काप्चामा पुर्याउन सकिने बताए ।

पत्रकार सम्मेलनमा आयोजक नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले समावेशी बीमाको लागि विश्वभर भएका अभ्यास तथा नेपालमा आगामी दिनमा अघि बढाउनुपर्ने कदमबारे छलफल हुने बताए । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन नेपालकै लागि ऐतिहासिक अवसर भएको बताउँदै यसको लाभ जनताको तहसम्म पुर्याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

समावेशी बीमा सम्मेलनकै क्रममा आयोजित पत्रकार सम्मेलनमा जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले समावेशी रुपमा देशका हरेक क्षेत्रमा बीमाको पहुँच पुर्याउने पर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*