लेखा समितिका सभापति पोखरेलकी श्रीमतीले सहकारीको कालोसूचीबाट नाम हटाउन माग गर्दै अदालतमा रिट दायर

६ कार्तिक २०८१, मंगलवार १७:५४

काठमाडौं । सहकारीको रकम अपचलनमा नाम आएपछि लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालाले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अदालतमा रिट दायर गरेकी छन्।

सहकारीको रकम अपचलनमा नाम मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालाले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अदालतमा रिट दायर गरेकी हुन् ।

कालोसूचीमा पहिल्यै परे पनि मोरङको धनपालथानको उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नाम जोडिएपछि पोखरेलकी श्रीमती अन्जलाले अदालत पुगेकी हुन्। मोरङ–२ का सांसद पोखरेल पत्नी अन्जलाको नाम उक्त सहकारीको रकम अपचलनमा जोडिएको छ ।

सहकारीमा १२ करोडभन्दा बढी रकम अपचलन भएको र उक्त सहकारीमा अन्जला पनि २०७८ सम्म सञ्चालक सदस्य रहेको भनेर उनको नाम जोडिएको छ।

यसरी अपचलन प्रकरणमा नाम जोडिएको कुरा सार्वजनिक भएपछि कोइरालाले उच्च अदालत विराटनगरमा उमा गौरी कृषि सहकारी, आरएसडिसी लघुवित्त रुपन्देही र कर्जा सूचना केन्द्र काठमाडौंविरुद्ध रिट दायर गरेकी हुन् ।

भदौ ३१ गते सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गर्दै अन्जलाले आफूलाई कालोसूचीबाट हटाउनुपर्ने माग दाबी गरेको उच्च अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिएका छन्।

उनको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइसमेत भएको छ । मुख्य न्यायाधीश राजेन्द्रप्रसाद राजभण्डारीको इजलासले मंगलबार रिटमा उल्लेखित विपक्षीहरुका नाममा कारण देखाउ आदेश दिएको छ।अब सहकारीदेखि , लघुवित्त र कर्जा सूचना केन्द्रले १५ दिनभित्र अदालतलाई लिखित जवाफ बुझाउनुपर्ने हुन्छ।

रुपन्देहीको आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ कात्तिक १६ गते अञ्जलालाई कर्जा तीर्न ३५ दिने सूचना जारी गरेको थियो। विभिन्न वित्तीय संस्थाबाट सहकारीले ऋण लिँदै सर्वसाधारणलाई लगानी गरेको, सर्वसाधारणले लगातार किस्ता तिरे पनि संस्थाले भने कसैको पनि रकम नतिरेको देखिएको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीले बताएका छन्।

संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारबाहेक अरु कसैलाई पनि केही थाहा नभएको दाबी कार्यालय प्रमुख खत्रीदेखि अन्जलासम्मले गर्दै आएका छन्।

उमा गौरी सहकारीमा ठूलो रकम अपचलन भएको चर्चा सुरु भएपछिसार्वजनिक रुपमा प्रतिवाद गर्दै अञ्जलाले उक्त सहकारीसँग आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएकी छन्।

धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको यो सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जलाले सहकारीबाट आफै ठगीमा परेको र सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गरिरहेकी छन्।

सोही अनुसार उनले अदालत गएको बताएकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*