राताम्यमा लाग्यो ब्रेकः नेप्से २५ अकंले बढ्दा १३ वटै उपसूचकमा हरियाली, कस्तो होला अबको यात्रा ?

६ कार्तिक २०८१, मंगलवार १५:०६

काठमाडौँ । आज दिनभर पुँजी बजारमा उतार–चढाव देखियो । तर, अन्तिम समयमा बजारले सुधार देखाएको छ । पछिल्ला दुई दिन राताम्य भएको शेयर बजारमा आज दोहोरो अकंको सुधार देखिएको हो । यसले लगानीकर्तालाई थोरै राहत दिएको छ ।

बजारमा देखिएको यो उतार–चढावलाई राजनीतिक अस्थिरता र सरकार परिवर्तनको सम्भावनासँग जोडेर हेरिएको छ । सत्ता पक्षका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको आन्तरिक द्वन्द्वको हल्ला फैलिँदा लगानीकर्तामा त्रास उत्पन्न भएको देखिन्छ । यसले शेयर बजारमा अस्थिरता ल्याएको अनुमान गरिएको छ ।

हाल पुँजी बजारलाई असर गर्ने आर्थिक सूचकहरू भने सकारात्मक देखिएका छन् । बैंकको ब्याजदर ओरालो लागिरहेको, कम्पनीहरूको वित्तीय अवस्था सुधार भइरहेको र बजारलाई बाधा पुर्याउने नीतिहरूमा सुधार आउँदै गर्दा लगानीकर्तामा आशा जागेको छ ।

शेयर बजारका विश्लेषकहरूले राजनीतिक स्थिरताले बजारमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेका छन् । सरकारको स्थायित्व कायम भएमा बजारले नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ । वित्तीय संस्थाहरूको स्थायित्व, बढ्दो आर्थिक लय र लगानीकर्ताको विश्वासले निकट भविष्यमा शेयर बजारलाई माथि लैजाने सम्भावना बलियो छ । साथै, हालसम्मका आर्थिक संकेतहरूले पनि बजारमा सकारात्मक सुधार हुने देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अकंले बढेर २६६५.८१ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशतसहित १३ वटै सूचकमा सुधार देखिएको हो ।

मंगलबार १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४० कम्पनीको मात्र घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*