भ्रष्टाचार नगर्ने न्यायाधीश नियुक्त गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्धता

६ कार्तिक २०८१, मंगलवार ११:२७

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंहराउतले सर्वोच्चका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने बताउँदै न्यायालयमा भ्रष्टाचार नगर्ने न्यायाधीश नियुक्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

सर्वोच्च अदालतको ३२ औं प्रधानन्यायाधीशका रुपमा पदभार सम्हालेका राउले न्यायाधीश नियुक्त गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने प्रतिवद्धता जनाएका हुन् । पूर्व न्यायाधीश फोरमले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारबाहीहरु पारदर्शी हुनु पर्ने बताए ।

प्रधानन्यायाधीश राउत तत्कालीन हरिकृष्ण कार्की नेतृत्वको सुझाव समितिका सदस्य एवं छानविन प्रतिवेदनका मस्यौदाकार समेत हुन् । उनले अदालतमा हुने गतिविधि र काम कारबाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्ने गरी सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह समेत गरे ।

कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रक्रियामा तत्काल हस्तक्षेप गरी कानूनसम्मत ढङ्गले सक्षम योग्य र इमान्दार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद नियमावलीमा भएका विवादको उपयुक्त समाधान खोजेर मात्रै उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पर्ने बताए ।

राष्ट्रिय महत्व एवम् संवेदनशील विवादलाई प्राथमिकता दिई अतिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि उनले बताए । कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न सबै तहका अदालतले मेलमिलापको वातावरण बनाउनु पर्ने बताए । कार्यक्रममा सर्वोच्च अदालत र उच्च अदालतका पूर्व न्यायाधीशहरु उपस्थित थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*