बुकक्लोजको मिति कुनले तय गरे र कुनको बाँकी, साधारण सभा कसको कहिले ?

५ कार्तिक २०८१, सोमबार १६:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका १० कम्पनीहरुले वार्षिक साधारण सभाको मिति तय गरेका छन् । सूचीकृत कम्पनीहरुमध्ये कतिपयले अघिल्लो आर्थिक वर्ष २०७९।०८० र कतिपयले गत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभा गर्न लागेका हुन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले कात्तिक ५ गते अर्थात सोमबारसम्म १० कम्पनीहरुको वार्षिक साधारण सभा आगामी मंसिर ७ गतेसम्म गर्ने भएका छन् । सूचीकृत १० कम्पनीमध्ये साधारण सभा गर्नेमा हाइड्रोपावर कम्पनीहरु सबैभन्दा बढी रहेका छन् ।

हिन्दु धर्मावलम्बीहरुको चाडपर्वका रुपमा रहेको भाइटिका (तिहार) अगाडि नै ७ वटा कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभा गर्ने भएका छन् । सो कम्पनीहरुले तिहार अघि नै आफ्ना लगानीकर्ताहरुको खातामा लाभांश जम्मा गर्न सक्ने सम्भावना रहेको छ ।

वार्षिक साधारण सभाको मिति तय गरेका कम्पनीहरुमध्ये ८ वटा कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल प्रस्ताव गरेका छन् । जसमा ४ वटा हाइड्रोपावर, स्वावलम्बन लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, बेष्ट फाइनान्स, सिटिजन्स बैंक र युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित गर्ने भएका छन् ।

लाभांश प्रस्ताव गरेका तीन कम्पनीहरुको बुकक्लोज हुन बाँकी रहेको छ । यसर्थ यी कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अवसर लगानीकर्ताहरुको लागि खुल्ला रहेको छ । जसमा स्वावलम्बन लघुवित्तले कात्तिक ९ गते, हाथवे इन्भेष्टमेन्टले कात्तिक ७ गते र मन्दाकिनी हाइड्रोपावरले कात्तिक २८ गते साधारण सभा प्रयोजनको लागि बुकक्लोज गर्ने भएका छन् । तसर्थ लगानीकर्ताहरुलाई यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न अझै पनि अवसर रहेको छ ।

लगनीकर्ताका लागि बुकक्लोज र साधारण सभाको मितिले निकै महत्व राख्ने गर्दछ । किनभने बुकक्लोज भन्दा अघिल्ल्लो कारोबारको दिन कायम शेयरधनीले मात्र उक्त कम्पनीले दिने लाभांश हात पार्न सक्छन् । यस कारण लगानीकर्ताले बुकक्लोजको मितिलाई निकै चलाखीपूर्ण तरिकाले हेर्ने गर्दछन् ।

कम्पनीहरुले वर्षभरी गरेको कमाई र अनी त्यसबाट घोषणा गरेको लाभांश पाउने आन्तिम बिन्दु कम्पनीको वार्षिक साधारण सभा हो । साधारण सभाबाट अनुमोदित भएपश्चात शेयरधनीलाई लाभांश वितरणको कार्य सुरु हुन्छ । यस आधारमा आम लगानीकर्ताको लागि बुकक्लोज र वार्षिक साधारण सभाको मिति निकै महत्वपूर्ण हुने गर्दछ ।

यी हुन् वार्षिक साधारण सभा आह्वान गरेका कम्पनीहरुः

१) स्वावलम्बन लघुवित्त
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २३औं वार्षिक साधारणसभा कात्तिक ३० गते बोलाएको छ । संस्थाको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

२) हाथवे इन्भेष्टमेन्ट
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पनि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीको १६औं साधारण सभा कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा आयोजना हुने भएको छ । सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, भोलिसम्म कायम शेयरधनीहरु कम्पनीको लाभांश पाउन सक्नेछन् ।

३) मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद लगायतका प्रस्तावहरू पारित गर्न मंसिर ७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहानको ८ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक २८ गते बुकक्लोज गर्ने भएको छ ।

कम्पनीहरुले प्रकाशित गरेका सूचनाका आधारमा,

४ ) अरुण भ्यालि हाइड्रोपावर
अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते आफ्नो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ०।१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते आर्थात आज बुकक्लोज गर्ने मिति रहेको छ । यस कम्पनीको लाभांश हिजो अर्थात आइतबारसम्म कायम शेयरधनीहरुले मात्र पाउने र वार्षिक साधारण सभामा सहभागि हुन पाउनेछन् ।

५) सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको असोज २० गते बसेको बैठकको निर्णयले सभा कात्तिक १२ गते, काठमाडौंको डिल्लीबजारमा रहेको अमृतभोगमा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनको लागि असोज २९ गते बुकक्लोज गरिसकेको छ ।

६)युनिलिभर नेपाल लिमिटेड

युनिलिभर नेपाल लिमिटेडले लाभांश पारित गर्न कात्तिक १२ गते ३१ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनीले वितरण गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।

कम्पनीले सभा प्रयोजनार्थ असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्मको अवधिमा बुकक्लोज गर्ने निर्णय गरेको छ ।

७) अपि पावर
अपि पावर कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा यहि कात्तिक ११ गते आयोजन गर्ने भएको छ । सभा काठमाडौंको होटल क्रिष्टल पशुपतिमा आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले निर्णय गरेको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव विद्युत नियमन आयोगले अस्विकार गरेपछि लाभांश संसोधन गरी सभा डाकेको हो

साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले कात्तिक गतेका दिन बुक क्लोज गरिसकेको छ ।

८) रु रु जलविद्युत परियोजना
रुरु जलविद्युत परियोजना लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।

९) बेष्ट फाइनान्स
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते बोलाएको छ । कम्पनीको असोज २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहानको ११ बजे सभा बोलाएको हो ।

कम्पनीले आफ्ना लगानीकर्ताको हात खालि बनाएको छ । लगानीकर्ताहरुलाई कम्पनीले अघिल्लो आर्थिक वर्षसम्मको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश प्रस्ताव नगरी वार्षिक साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

१०) आँखुखोला जलविद्युत
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते सोमबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले लाभांश तथा हकप्रद शेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । यस कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई निराश बनाएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*