सलिको, सिद्धार्थ र आईजिआई प्रुडेन्सियलको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च, दि ओरियन्टलको बक्यौता सबैभन्दा कम

४ कार्तिक २०८१, आईतवार १५:०७

काठमाडौ । नियामक नेपाल बीमा प्राधिकरणले प्रभावकारी नियमन नगर्दा सलिकोसहितका बीमा कम्पनीहरुले दावी भुक्तानी उच्च हुन पुगेको देखिएको छ । बीमा प्राधिकरणबाट प्राप्त आव २०८०।८१ को असार मसान्तसम्मको तथ्याङ्कमा तीन वटा बीमा कम्पनीले ३५ हजार ९८३ वटा बीमा पोलिसीको दावी भुक्तानी बक्यौता रहेको छ ।

बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्मको विवरणमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ७७ हजार ६११ वटा बीमा पोलिसीका लागि १९ अर्ब २० करोड ४६ लाख रुपैयाँ दावी भुक्तानी तिर्न बाँकी रहेको छ । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले पटक पटक बीमा दावी भुक्तानीलाई छरितो बनाउने प्रतिबद्धता जनाए पनि बीमक कम्पनीहरुले दावी भुक्तानीलाई छरितो र प्रभावकारी बनाउन सकिरहेका छैनन् ।

तथ्याङ्क अनुसार दावी भुक्तानी तिर्न ढिलाई गर्ने तीन वटा कम्पनीहरुको बक्यौता संख्या १० हजार भन्दा बढि छ भने रकम पनि सात अर्बभन्दा बढि छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मात्रै १३ हजार ३२४ जनालाई तीन अर्ब ८१ करोड ७४ लाख रुपैयाँ दावी भुक्तानी तिर्न बाँकी छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको बक्यौता १२ हजार ७० वटा बीमा पोलिसीका लागि दुई अर्ब १९ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै, आईजिआई प्रुडेन्सिलको बक्यौता संख्या १० हजार ५८९ वटा बीमा पोलिसी रहेको छ भने एक अर्ब ८३ करोड भन्दा बढि रकम बीमितलाई तिर्न बाँकी छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको बक्यौता संख्या १९५७ वटा मात्रै भएपनि बक्यौता रकम भने एक अर्ब ५१ करोड भन्दा बढि छ ।

सानिमा जिईआसीको एक अर्ब ४७ करोड, हिमालयन एभरेष्टको एक अर्ब ४७ करोड, नेको इन्स्योरेन्सको एक अर्ब ४२ करोड, शिखर इन्स्योरेन्स कम्पनीको ८३ करोड, नेपाल इन्स्योरेन्स कम्पनीको ७७ करोड रुपैयाँ बक्यौता देखिएको छ । त्यस्तै, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको ७६ करोड, प्रभु इन्स्योरेन्स कम्पनीको ७५ करोड ४० लाख, नेशनल इन्स्योरेन्स कम्पनीको ६३ करोड र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको ५६ करोड रुपैयाँ बक्यौता रहेको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा दावी भुक्तानी कम राख्ने कम्पनीको सूचिमा सबैभन्दा अगाडि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीको बीमा पोलिसी संख्या समेत ११८१ मात्रै छ, जुन सबैभन्दा कम हो । दावी भुक्तानीको लागि कम्पनीले चुस्तदुरुस्त रुपमा काम गरिरहेको उक्त तथ्याङ्कले पुष्टि गरेको छ ।

सलिकोका सिईओ चंकी क्षेत्रीले आफ्नो व्यवसायको आकार ठूलो भएकोले दावी भुक्तानी बक्यौता बढि भएको प्रतिक्रिया दिए । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ बिरेन्द्र बैदावार क्षेत्रीले गत आवको अन्त्यमा केही बढेको देखिएपनि अहिले पाइपलाइनमा गइसकेकोले अब विस्तारै घटेर जाने बताए । त्यस्तै, आईजिआई प्रुडेन्सियलका डेपुटी सिईओ तथा प्रबक्ता शरण रेग्मीले कोरोना बीमाको बक्यौतासमेत गरेर तथ्याङ्कमा बढि देखिएको र आफ्नो कम्पनीको धेरै बक्यौता नरहेको दावी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*