बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलनामा सुनुवाई, आदेश आउन बाँकी
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी चढेको मुद्दाको सुनुवाई सकिएको र आदेश झर्न बाँकी रहेको सर्वोच्चका सहायक प्रवक्ता एवं अवहेलनाका प्रतिवेदक गोविन्दप्रसाद घिमिरेले बताए ।
असोज १४ गते घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । बार अध्यक्ष घिमिरेले सर्वोच्चमा न्यायाधीश सिफारिस गर्दा लेनदेनका आधारमा गरेको अभिव्यक्ति दिएपछि फूलकोर्टको रायले उपरजिष्ट्रार घिमिरेले प्रतिवेदन दर्ता गराएका थिए । न्याय परिषदले असोज ११ गते सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । न्याय परिषदले नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले विवादस्पद अभिव्यक्ति दिएका थिए । प्रतिवेदन दर्ता लगत्तै अदालतलाई दशैं विदा लागेपछि कार्तिक १ गतेलाई तारेख तोकिएको थियो ।
प्रधानन्यायाधीश नियुक्त भएपछिको पहिलो सुरुवातमा प्रकाशमान सिंह राउतले बार अध्यक्षविरुद्धको कारबाही अघि बढाएका छन् । जसमा बार अध्यक्षलाई कैद वा जरिवाना हुनसक्ने आकलन गरिएको छ ।