१५% लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेले २३औं वार्षिक साधारणसभा कात्तिक ३० गते बोलाएको छ । लघुवित्तको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।
सभाले गत आव सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै संचालक र लेखा परीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
त्यस्तै चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, उपयुक्त अन्य लघुवित्त कम्पनीसँग मर्जरका लागि आवश्यक प्रक्रिया अघि बढाउने र यी कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाबाट पारित हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।