गौशाला धर्मशाला पुगेका २ डोजर प्रहरीको नियन्त्रणमा

३० आश्विन २०८१, बुधबार २२:१०

काठमाडौं । गौशाला धर्मशाला परिसरमा रहेको अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरका दुई डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको धर्मशाला सञ्चालनबारेको सम्झौता अनुसार अनधिकृत संरचना खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो ।

नेपाल प्रहरीको टोली भने पहिल्यैदेखि घेरा हालेर बसेको थियो भने अनाधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको दुई वटा डोजर नियन्त्रणमा लिएको बजगाइँले बताउनुभयो ।

२२ असोजमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएको थियो भने महानगरले मंगलबारै सम्झौता बमोजिमको सूचना टाँस गरेको थियो ।

महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरु र नगर प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । मारवाडी सेवा समितिका पदाधिकारीले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध जनाए ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । जुन निर्णयविरुद्ध समिति अदालत गएको थियो भने जिल्ला अदालत काठमाडौंले असोज १६ गते वादी मारवाडी सेवा समितिले मागे बमोजिम २०६० साल जेठ १२ गते भएको सम्झौतालाई निरन्तरता दिनुपर्ने भनी लिएको जिकिरमा दावी नपुग्ने फैसला गरेको छ ।

अदालतको फैसला लगत्तै कोषको सञ्चालक परिषदले धर्मशाला खाली गराई काठमाडौं महानगरसँगको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ । कोष सञ्चालक समितिले गरेको निर्णयपछि विवाद थप चर्किएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*