बाढी पीडितको दु:खमा मलम लगाउदै नेपाल लाइफ, सयौं नागरिकलाई राहत सामाग्री प्रदान

३० आश्विन २०८१, बुधबार १७:०५

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ ।

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा यस कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तह को उपस्थितिमा वितरण गरेको छ ।

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको हुँदा सो घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए ।

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*