‘स्वतन्त्र पञ्जाव’का अभियन्ता निज्जर हत्याले भारत-क्यानाडा सम्बन्ध धरापमा, नेपालमा दूतावास जरुरी

२९ आश्विन २०८१, मंगलवार ०९:२८

काठमाडौं । दुबैले आफ्नो मुलुकबाट उच्च आयुक्तहरुलाई निष्कासन गरेसँगै भारत र क्यानाडाको कुटनीतिक सम्बन्ध धरापमा परेको छ । कट्टरपन्थी नेता हरदिप सिंह निज्जरको हत्यामा भारतीय कूटनीतिज्ञकै संलग्नता रहेको विषयले यी दुई देशबीचको सम्बन्धमा दरार आएको थियो ।

क्यानाडाले आफ्नो भूमिमा निज्जरको हत्या गरेको अभियोगमा ६ शंकास्पद भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ । यता, भारतले समेत ६ जना क्यानेडियन कूटनीतिज्ञलाई फिर्ता पठाइदिएको छ ।
भारतले दिल्लीस्थित क्यानेडेली दूतावासको नेतृत्व गरिरहेका कार्यकारी उच्च आयुक्त स्वीवर्ट ह्विलर्ससँगै अर्का एक डेपुटी उच्च आयुक्त र चारजना विशिष्ट सेक्रेटरीलाई निष्कासन गरेको हो । उनीहरुलाई अक्टोबर १९ को मध्यरातसम्म भारत छोडिसक्न मोदी प्रशासनले भनेको छ ।

यसै घटनालाई लिएर क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेर निज्जर हत्यामा भारत सरकारका एजेन्टको प्रत्यक्ष संलग्नता रहेको देखिएको भन्दै भारतीय कदम स्वीकार्य नरहेको बताएका छन् । उनले भारतीय एजेन्टहरुले क्यानाडामा पछिल्लो समय अत्यधिक गैरकानूनी गतिविधि बढाएको आरोप समेत लगाएका छन् । क्यानाडाले आफ्ना नागरिक हरदिप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टहरुको संलग्नता हुनसक्ने भनेपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको हो ।

क्यानाडाले भारतीय उच्च आयुक्तलाई नै अनुसन्धानको दायरामा ल्याउनुपर्नेै बताएपछि दिल्ली थप आक्रोशित बनेको छ । पञ्जावलाई भारतबाट अलग गराएर खालिस्तान बनाउनुपर्ने अभियानमा लागेका निज्जरलाई भारतले आतंकवादीको सूचीमा राखेको थियो । यो विषयमा विवाद बढ्दै जाँदा भारतले क्यानाडामा आफ्नो भिसा समेत रोकेको थियो ।

केही समयअघि मात्रै भएको जी-ट्वेन्टी सम्मेलनका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सम्बन्ध राम्रो देखिएको थिएन । त्यसपछि क्यानाडाले भारतसँगको व्यापार मिसन स्थगित गरेको बताइन्छ । त्यसलगत्तै दुबै देशले एक अर्काका कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको गरेका थिए । भारत क्यानाडा सम्बन्ध धरापमा परेसँगै नेपालमा क्यानेडेली दूतावास आवश्यक भएको चिन्ता कूटनीतिज्ञहरुले गरेका छन् ।

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका दौरान परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानेडेली विदेशमन्त्रीलाई आग्रह गरेकी थिईन् । क्यानाडाले प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएपनि कहिले दूतावास स्थापना हुन्छ भन्नेबारे भने कुनै औपचारिक जवाफ फर्काएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*