गौशाला धर्मशालाका नाममा बनाइएका भवन-टहरा अवैध, पशुपतिनाथ गुठीको निषेधित जग्गा हडप्न अनेक दाउ

२८ आश्विन २०८१, सोमबार १२:५९

काठमाडौं । पशुपतिनाथ गुठीको ‘९-९’ रोपनी जग्गा तथा त्यसमा बनेको धर्मशाला लगायत संरचनामा आफुहरुको मोहीयानी हक लाग्ने जिकिर गर्दै मारवाडी सेवा समितिले अनेक दाबीहरु पेश गर्न थालेको छ । गएको बुधबार पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरको प्रहरीबलले गौशाला पुगेर खाली गराउन चेतावनी दिइसकेको छ ।

यहिबीचमा दशैं परेकाले महानगर प्रहरीले बल प्रयोग नगरेको नगर प्रहरी उपरीक्षक एवं महाशाखा प्रमुख विष्णु प्रसाद जोशीले बताए । अब दशैंको विदा सकिएलगत्तै धर्मशाला खाली गराइने उनले जानकारी दिए ।

मारवाडी सेवा समितिले भने अदालतको मुद्दा अन्तिम किनारा लागिनसकेको र गौशाला खाली गराउन आधिकारिक पत्र नपाएको बताउँदै अफिसियल पत्र नआएसम्म खाली नगर्ने अडान लिएको छ । आफुहरु यसको मोही भएको उल्लेख गर्दै गौशाला खाली गराउन नदिने भन्दै समितिका पदाधिकारीहरुले मुख्य गेटमा धर्ना दिन थालेका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग २०६० साल जेठ ९ गते भएको ९ बुँदे सम्झौता खारेज गरेपछि ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी समितिले जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेको थियो ।

पशुपतिनाथ गुठीको ९ रोपनी ९ आना जग्गा पशुपति क्षेत्र विकास कोष ऐन २०५० अनुसार पशुपति क्षेत्र विकास कोषको संरक्षकत्वमा छ । जुन कोषको उद्देश्य परिपूर्ति बाहेक कसैले हकभोग वा चलन गर्न पाउँदैनन् भने ऐनले व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको स्वीकृतिविना कुनै प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन ।

परिषदले निषेध गरेको ठाउँमा कसैले आफ्नो हकभोगको जग्गा कुनै प्रकारले हक हस्तान्तरण गर्न र निर्माण सम्बन्धी कुनै कार्य गर्नु हुँदैन भनी ऐनको दफा १७ ले प्रष्ट भनेको छ । यस्तै, परिषदले निषेध गरेको ठाउँबाहेकका अन्य ठाउँमा निर्माण सम्बन्धी कार्य गर्दा समितितले निर्धारण गरिदिएको मापदण्ड बमोजिम मात्र गर्नु पर्ने भनी ऐनको सोही व्यवस्थाले भनेको छ । तर, परिषदले निषेध गरेको गौशाला धर्मशालामा मारवाडी सेवा समितिले अनधिकृत रुपमा अवैध संरचना निर्माण गरेको बताइन्छ ।

ऐनको दफा १७.४ मा निर्माण सम्बन्धी विषयमा नक्सासहित वा रहित स्वीकृति दिने वा नक्सा पास गर्न दायित्व भएका काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन परिषद, नगरपालिका वा अन्य निकायहरुले परिषदको पूर्व स्वीकृति नलिई निर्माण सम्बन्त्री नक्सा पास गर्न वा स्वीकृति दिनुहुँदैन भनी उल्लेख छ ।

तर, मारवाडी सेवा समितिले वार्षिक ५१ हजार सहयोग दिने करारनामा गरेकै भरमा अवैध संरचना निर्माण होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर, भाडाका सटर तथा गौशाला सञ्चालन गरिरहेको थियो ।
मारवाडी सेवा समितिले जर्सी गाई पालेर दूध बेच्दै आएको थियो भने गौशाला धर्मशालामा अवैध रुपमा तला थपेर लज विस्तार गर्दै १९ वटा सटर मासिक ३५ हजारसम्ममा भाडामा लगाएको क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति गुठीको जग्गा प्रयोग गरेवापत रोपनीका हिसाबले आफुहरुले तिरो तिरेको जिकिर गरे पनि मारवाडी सेवा समितिले सार्वजनिक गरेको अमालकोट कचहरीको रसिद समेत मिलेमतोमा फर्जी बनाएको भेटिएको छ । अमालकोट कचहरीमा लामो समय बसेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार मोही ट्रान्सफर गर्न मिल्ने छिद्रलाई समातेर मारवाडी सेवा समितिले गौशाला चोकैको ९ रोपनी ९ आना जग्गा हडप्न खोजेको हो ।

मारवाडी सेवा समितिले भने तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरका पालमा (विक्रम संवत १९९७) सालमा मारवाडी सेवा समाजका रामकुमार मारवाडी लगायतलाई बोलाएर वर्तमान गौशाला धर्मशालाको जग्गा समाजलाई उपलब्ध गराएको जिकिर गरेको छ ।

यसको मुख्य शुत्रधार तत्कालीन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव बसन्त चौधरी भएको बताइँदैछ । दुई कार्यकाल क्षेत्र विकास कोषको सदस्य सचिव भएका चौधरीले दरबारसँगको सम्बन्धको दुरुपयोग गर्दै मोहीयानी हक लागेपनि रैकर गरेर बेचविखन गर्न नमिल्ने पशुपतिनाथ गुठीको जग्गा हत्याउन तिकडम गरेको बुझिएको छ ।

चौधरीकै पालामै पशुपतिनाथ गुठीको ललितपुरको एकान्तकुनास्थित ठूलो क्षेत्रफलको जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा रैकर गरेर बस्ती विस्तार गरिएको रेकर्ड छ । दरबार निकटस्थहरुलाई मोहीका रुपमा दिइएको उक्त जमिन् वास्तविक मोहीलाई अपहरण गरेर नक्कली मोही खडा गरी रैकर गरेको र उक्त जग्गा बेचविखन भएर अहिले बस्ती विस्तार भएको बताइएको छ । यो तिकडममा तत्कालीन स्वास्थ्यमन्त्री समेत रहेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा समेत सामेल रहेको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*