निर्जीवन बीमा किन गर्ने ? कस्तो अवस्थामा काम लाग्छ ?
काठमाडौं । निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता (करार) हो । यसमा बीमा गराउन कम्पनी र बीमा गर्ने व्यक्तिकाबीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको हानीनोक्सानी भएमा बीमाकंको परिधिमारही वास्तविक रुपमा कति हानी नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा रकम भुक्तानी गर्छ ।
निर्जीवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जीवन बीमामा खास गरी चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा पर्दछन् । निर्जीवन बीमामा विशेष गरी अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, मोटर बीमा, कृषि पशुपंक्षी तथा जडिबुटी बीमा र विविध बीमा पर्दछन् । पछिल्लो समय बीमा प्रति मानिसहरुको धारण सकारात्मक हुँदै गएको छ । तर, पनि जति विकास हुनुपर्ने हो त्यो भने भएको पाइदैन । समय र प्रविधिसँगै बीमा क्षेत्रमा हुनुपर्ने सुधार नआउनुमा धेरै कारणहरु छन् । जसकारण बीमा प्राधिकरणले बीमाको पहँुच वृद्धि गर्नका लागि बीमा सचेतनाका कार्यक्रमहरु सक्रिय रुपमा अघि बढाउदै आइरहेको छ ।
कुनै पनि घटना भएको खण्डमा बीमितले कम्पनीलाई प्रारम्भिक सूचना दिनुपर्ने हुन्छ । कम्पनीमा गएर फारम भरेपछि सो बीमा कम्पनीले उक्त घटनाको छानविन गर्न सर्भेयर खटाउँछ । सर्भेयर भनेको क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्याङ्कन गर्न बीमा प्राधिकरणबाट इजाजत प्राप्त भएको व्यक्ति वा संस्था हो, जसको प्रतिवेदनको आधारमा बीमितलाई बीमा कम्पनीले दावी रकम भुक्तानी गर्छ ।
विविध बीमाअन्तर्गत व्यक्तिगत दुर्घटना बीमा, सामूहिक दुर्घटना बीमा, मार्गस्थ बीमा, कामदारको क्षतिपूर्ति बीमा, गार्हस्थ्य बीमा, पशु बीमा, औषधिउपचार खर्च बीमा, सेँधमारी (लुटपाट) बीमा, बैङ्कर्सको क्षतिपूर्ति बीमा र निष्ठा जमानी आदि पर्दछन् ।
आगलागी दुर्घटनावश भएको र आगो ज्वाला प्रस्फुटित भएको अग्नि बीमामा पर्छ । अनिवार्य तेस्रो पक्षप्रतिको दायित्व बीमा, प्याकेज बीमा मोटर बीमाका प्रकार हुन् । हड्ताल, हुलदङ्गा र विध्वंसात्मक कार्यको जोखीमका लागि पनि बीमा गर्न सकिन्छ ।
निर्जीवन बीमाका प्रकारः
सामुन्द्रिक बीमा
व्यापार वा व्यवसाय गर्दा वा अन्य काम गर्दा एक ठाउँबाट अर्को ठाँउ सामान लैजादा दुर्घना हुन सक्छ । मालसामान एक ठाँउ बाट अर्को ठाँउ ओसारपसार गर्दा हुने क्षति व्यहोरिदिने बीमालाई सामुन्द्रिक बीमा भनिन्छ । व्यवसाय गर्नेका लागि यो बीमा उपयुक्त हुन्छ ।
अग्नि बीमा
निर्जीवन बीमा अन्तर्गत अग्नि बीमा पर्दछ । बीमा क्षेत्रमा भएको विकासँगै अग्नि बीमा गर्ने प्रचलन बढ्दै गएको छ । अग्नि बीमा भनेको भवन, भवनभित्र राखिएका सामान, मेशिनरी लगायत स्थिर अर्थात् अचल सम्पत्तिका लागि गरिने बीमा हो । दुर्घटनावश ज्वाला निस्केर दुर्घटना भएको अवस्थालाई अग्नि भनिन्छ भने यस्तो अवस्थामा उक्त जोखिमबाट हुने आर्थिक क्षतिपूर्ति गरिने बीमालाई अग्नि बीमा भनिन्छ । आगोबाट क्षति हुँदा क्षतिपूर्तिका लागि बीमा गर्ने व्यक्ति र बीमा कम्पनीका बीचमा गरिने करारलाई अग्नि बीमा भनिन्छ । भविष्यमा आगलागी भएर कँहि नोक्सान भयो भने त्यसको भर्पाइका लागि अग्नि बीमा गरिन्छ । अग्नि बीमा गरेका खण्डमा आगलागी भई दुर्घटनावश क्षति हुन पुगे बीमा कम्पनीले दिने क्षतिपूर्ति सुरक्षित हुन्छ । जसले पेशा वा व्यवसायबाटै हात धुनुपर्ने खतराबाट मुक्ति दिलाउँछ ।
हवाई बीमा
हवाई यातायात पनि जोखिमबाट मुक्त छैन । विभिन्न प्रकारका क्षति र नोक्सानी हुने खतरा यो क्षेत्रमा व्याप्त हुन्छ । हवाई दुर्घटनामा हुने जनधन, मालसामान आदिको हानी नोक्सानी व्यहोर्ने बीमालाई हवाई बीमा भन्ने गरिन्छ ।
सवारी साधन बीमा
यान्त्रिक शक्तिद्धारा सडकमा गुड्ने सवारी साधनहरु मोटरसाइकल, कार, बस जस्ता अन्य उपकरणहरु यो बीमाभित्र पर्दछन् । सवारी साधन दुर्घना हुने खतरा धेरै हुन्छ त्यसैले सवारी साधनको बीमा गराएर हुन सक्ने जोखिम वा क्षतिलाई कम गर्न सकिन्छ ।
कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा
कृषि पशुपंक्षी तथा जडिबुटी क्षेत्रमा हुने जोखिमलाई बीमाको माध्यमबाट न्यूनीकरण गरी बीमा प्रवद्र्धन गर्नका लागि यो बीमा गरिन्छ । जसमा महाविपत्तिलाई समेत समेटिएको छ । प्रत्येक निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने बीमकले नियामक तथा निर्देशिकाले तोकेका क्षेत्रमा व्यवसाय गर्नुपर्दछ ।
कृषि, पशुपंक्षी तथा जडिबुटी बीमालेखमा बीमकले कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा व्यवसाय गर्दा अनुदान प्राप्त नहुने बीमाको हकमा पुरै रकम र अनुदान प्राप्त हुुने बीमाको हकमा अनुदानबाट प्राप्त हुने रकम बाहेक बाँकस् रहकम प्राप्त गरेपश्चात मात्रै बीमालेख जारी गर्नुपर्दछ । यसमा छोटो अवधिको बीमा र सामूहिक बीमा गर्न सकिन्छ । यसबाहेक अन्य बीमालेख भने जारी गर्न पाइँदैन ।
बीमाका फाइदा
बचतः बीमालाई बचतको रुपमा पनि लिन सकिन्छ तर यो बचत बैंकमा जस्तै जुनसुकै समयमा झिक्न भने पाइँदैन । कुनै पनि नागरिकले आफ्नो सामान तथा साधनको लागि बीमा गर्ने गर्दछन् । जसले गर्दा बीमीतले दावी भुक्तानीबापत रकम पाउँछन् ।
आर्थिक सुरक्षा
बीमा भन्नेवित्तिकै आर्थिक सुरक्षा भन्ठान्नु पर्छ । जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको प्रत्याभूत गर्छ । जसले कुनै पनि समयमा दुर्घटना वा भैपरी आउने घटना दुर्घटनामा गुमेको वस्तु तथा सेवाको फिर्तिमा महत्वूर्ण आर्थिक सहायता गर्छ ।
कर छुट
बीमा गर्दा बीमितले राजस्व छुटमा समेत लाभ लिन सक्छन् । आयकर ऐनअनुसार बीमा गरेका खण्डमा आयमा कर छुट हुने व्यवस्था गरिएको छ ।
व्यवसायको निरन्तरतामा सहयोग
निर्जीवन बीमाले व्यवसायमा हुने आगलागि, चोरी वा प्राकृतिक विपत्तिका कारणबाट हुने हानीलाई न्यून गर्न सहयोग गर्छ । फलस्वरूप व्यवसायलाई वित्तीय स्थायित्व प्रदान गर्दै निरन्तर व्यवसाय सञ्चालनमा सहयोग पुर्याउँछ ।
मानसिक शान्ति
निर्जीवन बीमाले जोखिमहरूको सामना गर्दा मानिसलाई मानसिक रुपमा शान्ति प्रदान गर्छ । घटनाबाट सम्पत्ति गुमेको वा हानि भएको अवस्थामा निर्जीवन बीमाले आर्थिक भारलाई न्यून गरी अनपेक्षित परिस्थितिहरूको सामना गर्न आत्मविश्वास दिन्छ ।