जीवन बीमा भनेको के हो ? यसका फाइदाहरू केके छन् ?

२७ आश्विन २०८१, आईतवार ०७:१५

काठमाडौँ ।  जीवन बीमा एक महत्वपूर्ण वित्तीय साधन हो । यसले व्यक्तिको जीवन र जीवनमा आइपर्ने संकटको वित्तीय जोखिम बहन गर्छ । कुनै पनि व्यक्तिले जीवन बीमा गर्दा न केवल आफ्नो मात्र भविष्यको सुरक्षा गर्छ, अपितु यसले परिवारका अन्य सदस्यहरूको जीवनशैली र आर्थिक स्थिरतामा पनि सकारात्मक प्रभाव पार्छ ।

बीमा ऐन, २०७९ अनुसार “जीवन बीमा व्यवसाय भन्नाले कुनै खास रकम तिरेमा कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको मृत्यु भएको अवश्थामा वा निजको आयुको आधारमा किस्तावन्धिमा बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धि व्यवसाय सम्झनु पर्दछ ।”

मानिसको जीवनसँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्त परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्छ । बीमा गरेवापत पाउने सुविधा बीमाको प्रकार अनुसार फरक हुन्छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूँजी निमार्ण, करमा छुट जस्ता सुविधा प्रदान गर्दछ । त्यसैले जीवन बीमा अनिवार्य बचत एवंम आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय हो ।

जीवन बीमा एक प्रकारको सम्झौतामा आधारित जोखिम बहन गर्ने वित्तीय साधन हो । जसमा बीमितले निश्चित रकम प्रिमियमका रूपमा बीमा कम्पनीलाई बुझाउनुपर्छ र यदि बीमितको मृत्यु भएमा बीमा कम्पनीले निश्चित रकम बीमितले इच्छाएका व्यक्ति अर्थात् परिवारका सदस्यलाई भुक्तान गर्छ । जीवन बीमाका विभिन्न प्रकारहरू हुन्छन् जस्तैः आजीवन जीवन बीमा, सावधिक जीवन बीमा, म्यादी जीवन बीमा।

आजीवन जीवन बीमाः
आजीवन जीवन बीमा भनेको बीमितको सम्पूर्ण जीवनकाल भरि सुरक्षा प्रदान गर्ने बीमा योजना हो । यस प्रकारको बीमामा कुनै निश्चित अवधि हुँदैन यो जीवनभरका लागि हुन्छ । यो बीमा गर्दा बीमाङ्क रकम बीमितको मृत्यु भइसकेपछि बीमिते इच्छाएको व्यक्ति वा निजको हकवालाले पाउँछ ।

जीवनभरको सुरक्षा, स्थिर प्रिमियम, कर लाभ, धन हस्तान्तरणको सुविधा आजीवन जीवन बीमाका मुख्य विशेषताहरू हुन् ।

सावधिक जीवन बीमाः
यो जीवन बीमा सामान्यतया ५ वर्षको अवधिका लागि गरिन्छ । तोकिएको अवधिसम्म किस्ताबन्दीको रूपमा बीमा शुल्क तिर्ने र सो अवधि पछि यदि बीमित जीवितै छ भने उसैलाई र बीमितको मृत्यु भइसकेको भए निजको हकवालालाई बीमाङ्क रकम र आर्जित बोनस स्वरूप प्रदान गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।

अवधिको निश्चितता, सस्तो प्रिमियम र उच्च कभरेज यस बीमाका प्रमुख विशेषताहरू हुन् ।

म्यादी जीवन बीमाः
म्यादी जीवन बीमा सीमित अवधिका लागि मात्र गरिने बीमा हो । यस बीमा योजनामा आवद्ध बीमितले बीमा अवधिसम्म बीमाशुल्क भुक्तानी गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएपछि ऋण लिने व्यक्तिको मृत्यु हुन गएमा परिवारका सदस्यहरूले उक्त ऋण चुक्ता गर्नुपर्ने हुन्छ र चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुनसक्ने सम्भावना रहन्छ । तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको खण्डमा बीमितको मृत्यु भएमा बीमा कम्पनीले नै ऋण रकम तिरिदिने भएकाले परिवारका सदस्यहरू ऋणको भारबाट मुक्त हुन सक्छन् ।

सस्तो र प्रभावकारी, आर्थिक सुरक्षा, ऋण भुक्तानी, अवधिको निश्चितता यस बीमा योजनाका प्रमुख विशेषता हुन् ।

जीवन बीमाका फाइदाहरूः

१. परिवारको सुरक्षाः
जीवन बीमा गर्ने व्यक्तिले आफ्नो मात्र नभएर आफ्नो परिवारको भविष्यको समेत सुरक्षा गर्छ । बीमितको मृत्यु हुँदा परिवारमा पर्न सक्ने आर्थिक संकटबाट बीमाले सुरक्षा प्रदान गर्छ ।

२. आर्थिक सुरक्षा
जीवन बीमाले बीमितमा पर्न सक्ने आर्थिक संकटबाट समेत सुरक्षा प्रदान गर्छ । बीमितले प्रिमियमबापत तिरेको रकमले बीमितको भविष्यमा कुनै पनि आर्थिक समस्या आइपर्दा आर्थिक सुरक्षा प्रदान गर्छ ।

३. व्यक्तिगत र पारिवारिक लक्ष्यको पूर्ति
जीवन बीमाले समयसमयमा विभिन्न योजना र लाभका अवसरहरू प्रदान गर्छ । जसले बीमितलाई आफ्नो तथा पारिवारिक लक्ष्य जस्तैः शिक्षा बापतको खर्च, घर किन्ने, गाडी किन्ने आदिका लागि सहजीकरण गर्न सक्छ ।

४. कर छूट
आयकर ऐनअनुसार बीमा गरेमा आयमा कर छूट हुने व्यवस्था छ । करमा छूट पाइँने हुँदा बीमितले यसबाट पनि लाभ उपभोग गर्न सक्छन् ।

५. ऋण सुविधा
बीमा गर्दा बीमालेखमा निश्चित अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा लिन सकिन्छ । ऋण सुविधा प्राप्त गर्न बीमालेख बाहेक अन्य सम्पत्ति धरौटीबापत राखिरहनु पर्दैन ।

६. अतिरिक्त स्वास्थ्य लाभ
जीवन बीमा योजनाहरूमा बीमितहरूका लागि स्वास्थ्य बीमा लगायत अन्य अतिरिक्त लाभहरू समेत समावेश गरिएका हुन्छन् । यसले बीमितको समग्र स्वास्थ्य र सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँछ ।

७. सामाजिक सुरक्षा
कुनै एक व्यक्तिले जीवन बीमा गर्दा मात्रै पनि यसले समाजमा सकारात्मक प्रभाव पार्छ । फलस्वरूप समाजका अन्य व्यक्तिहरू पनि यसमा आवद्ध हुन्छन् जसले समाजको सुरक्षा र भविष्यमा सकारात्मक परिवर्तन ल्याउँछ ।

८. बचत
जीवन बीमा गर्नु भनेको एक प्रकारले बचत गर्नु सरह हो । किनभने बीमा गर्दा तिरिएको रकम जुनसुकै समयमा झिक्न पाईँदैन । निश्चित अवधि र सर्तको अधीनमा रहेर मात्र रकम फिर्ता पाइँने भएकाले यो दीर्घकालीन बचत पनि हो ।

कुनै पनि बीमितले बीमा पोलिसीको चयन गर्दा आवश्यकता र लक्ष्य, आम्दानी श्रोत, प्रिमियम दर, कभरेज र लाभ, बीमा कम्पनीको विश्वसनीयता आदिको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नु राम्रो हु्न्छ ।

अतः जीवन बीमा आजको समाजका लागि एक अपरिहार्य वित्तीय साधन हो । जसले व्यक्तिलाई आर्थिक सुरक्षा र जोखिम बहन गर्छ । जीवन बीमाले परिवारको सुरक्षा, बचत, आर्थिक सुरक्षा, सन्तानको शिक्षा आदि जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ । जीवन बीमा पोलिसीको छनौट गर्दा व्यक्तिले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार सही योजना छनोट गर्नुपर्छ । समग्रमा भन्नुपर्दा जीवन बीमा केवल एक वित्तीय उपकरणमात्र नभएर जीवनको सुरक्षा र सन्तानको पालनपोषणका लागि समेत अपरिहार्य साधन हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*