बाल्यकाल सम्झेर अहिले पनि दशैंमा पिङ खेल्न दौडिन्छुः निर्देशक सुवेदी (भिडियोसहित)

२५ आश्विन २०८१, शुक्रबार १५:२७

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदी दशैं भन्ने वित्तिकै बाल्यकाल सम्झिहाल्छन् । उनी अहिले पनि बाल्यकाल सम्झेर दशैंमा पिङ् खेल्न डौडिहाल्छन् । उनी भन्छन्, ‘दशैं आउने वित्तिकै मनै रोमान्चित हुन्छ । दशैं भन्नासाथ म बाल्यकालको दशैं सम्झिन्छु । त्यतिबेला गाउँमा जब लङ्गुरबुर्जा हल्लाएको सुनिन्थ्यो, पिङ मच्चिएको देखिन्थ्यो अनि दशैं आउँथ्यो ।’

‘दशैंमा घर जाँदा पनि पुराना दशैंको याद आउँछ । बाटोमा पिङ देखेँ भने गाडीबाट ओर्लिएर खेल्छु । पिङमा मच्चिँदा खुब रमाइलो लाग्छ, सुवेदी अगाडि थप्छन्, ‘पिङ चढ्दा बाल्यकाल नै फर्किएजस्तो लाग्छ । कतिबेला घर पुगेर बाल्यकालका साथी भेटौँ जस्तो हुन्छ ।’

दशैंमा कहाँ बढी दक्षिणा पाइन्छ भनेर आफुहरुले बढी खुल्दुली हुने गरेको सुनाउँछन्, सुुवेदी । विशेष गरी मामाघरमा दक्षिणा लिँदाको स्मरण नै छुट्टै हुन्थ्यो, सुवेदी भन्छन्, ‘सानो बेलामा जिम्मेवारीले थिचेको हुँदैन । बाल्यकालको दशैं मानसपटलमा अझै पनि छ र रहन्छ पनि । त्यो बेलाको दशैं सम्झेर अझ रमाइलो लाग्छ ।’

दशैंमा अर्को सम्झने भनेको मामाघर जाँदा हो । दशैं लाग्ने बित्तिकै ठूलो बा’हरूसँग टीकै नथापी मामाघर कुद्न हतार हुन्थ्यो, उनी थप्छन्, ‘ठूलो बा’हरूले त आशिर्वाद मात्र दिन्थे । मलाई आशिर्वाद भन्दा पैसा ठूलो थियो । पैसा मामाघरमा पाइन्थ्यो । पैसा बटुलेर म खुसी भएर फर्कन्थेँ । पहिला आफू सानो हुँदा नयाँ लुगा बा’आमाले किनिदिन्छन् भन्ने आश लाग्थ्यो । तर, अहिले परिवारलाई आफूले किनिदिँदा रमाउँछु ।’
यो वर्र्ष दशैंको मुखैमा आइलागेको बाढीपहिरोको पीडाले मोहाल फरक छ । असोज ११ र १२ गते आएको अविरल वर्षाले निम्त्याएको विपदले भौतिक र मानवीय क्षति गरेको छ । यो पीडामा मलम लगाउने काममा हामी निरन्तर खटिरहेका छौं, सुवेदी भन्छन्, ‘हाम्रो मात्रै नभएर उहाँहरुको दशैं पनि रमाईलोको साथै मनाउन सक्ने वातावरण हामीले तयार गर्न प्रयासरत छौं ।’

जो जहाँ छौँ, हासी खुशी दशैं मनाऔं भन्दै निर्देशक सुवेदी थप्छन्, ‘विजया दशमी २०८१ को पावन अवसरमा आम बीमित, बीमा क्षेत्रमा कार्यरतवर्ग तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ज्ञापन गर्दछु ।’

हेरौं, भिडियो सन्देशः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*