प्रधानमन्त्री ओलीलाई पाँचतारे होटलको उदघाटन गर्न लगाएर उर्जामन्त्रीले गरे कुलमानमाथि प्रहार

२३ आश्विन २०८१, बुधबार २२:४५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचतारे होटलको उद्घाटन गर्न लगाएर त्यही जोशमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि प्रहार गरेका छन् ।

नेपाल स्काउटको सार्वजनिक जग्गा हडप्ने कार्यमा संलग्न एवं भ्रष्टआचरणको आरोप लागेका मन्त्री खड्काकै लगानीमा बुढानीलकण्ठ–१, मुहानपोखरीमा पाँचतारे होटल ‘फरेष्ट इन ईन’को बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । त्यही दिन मन्त्री खड्काले विद्युत प्राधिकणका प्रबन्ध निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णयमा हस्ताक्षर धस्काए ।
कुलमानलाई प्राधिकरणबाट हटाउने नियतका साथ उर्जामन्त्री खड्काले विभिन्न चलाखी गरिरहेका बुझिएको छ । आफैंले मिडिया ट्रायल गर्न लगाएर मन्त्री खड्काले प्राधिकरणको विगत ४ वर्षदेखिको वित्तीय विवरण, ट्रान्सफर्मर खरिदको विवरण, कर्मचारी विवरणलगायतका थुप्रै विषय समेटेर स्पष्टीकरण सोधिएपछि घिसिङलाई वर्तमान सरकारले निकाल्न खोजेको भन्दै सामाजिक सञ्जाल तातिएको छ ।

स्पष्टीकरणमा घिसिङले ट्रान्सफर्मर खरिद प्रक्रियामा अनियमितता गरेको भनी आरोप लगाइएको छ भने भक्तपुरको खरिपाटी र हेटौंडा केन्द्रीय स्टोरमा रहेका ट्रान्सफरमा झार उम्रिएको भनी प्रचार गर्न लगाइएको छ । यसबारे भएको मिडिया ट्रायललाई लिएर संसदको सार्वजनिक लेखा समितिले पनि कुलमानलाई तारो बनाएको छ ।

कुलमानविरुद्ध लेखा समितिसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागमा पनि उजुरी हालेर चौतर्फी घेराबन्दी गरिएको छ ।

मन्त्रीको लगानीमा तारे होटल
मन्त्री खड्काको लगानीमा गत साउनबाटै संचालनमा आएको होटलको औपचारिक उदघाटन बुधबार मात्रै प्रधानमन्त्री केपी ओलीले गरे । होटेल फरेष्ट इनको व्यवस्थापन अमेरिकी होटेल चेन कम्पनी इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को चर्चित ब्रान्ड ‘होलिडे इन’ले गरिरहेको छ ।

‘होलिडे इन’ अमेरिकी होटल चेन आइएचजीको मिडस्केल ब्रान्ड हो । होलिडे इनले विश्वभरि ११ सय ९२ होटल सञ्चालन गर्दै आएको छ, जहाँ दुई लाख १४ हजार ५९७ कोठा छन् ।

एक लाख ४२ हजार ७ सय ८३ वर्गफिट क्षेत्रफलमा फैलिएको पाँचतारे होटेलमा १०२ कोठा रहनेछन् । होटेलमा करीव तीन अर्ब रुपैयाँ लगानी भएको बताइँदै छ । जसमध्ये दुई अर्ब १३ करोड (७२ प्रतिशत) बैंकको ऋण र ८४ करोड (२८ प्रतिशत) रुपैयाँ आफ्नै पुँजी लगानी रहेको छ ।

पाँचतारे होटेल सञ्चालनमा ल्याउने व्यवसायी भने बहालवाला उर्जामन्त्री, दीपक खड्का हुन् । खड्काले झापामा पनि पाँचतारे होटेल इस्टर्न बनाइरहेका छन् । त्यसको उदघाटन पनि सम्भवतः उनले प्रधानमन्त्री केपी ओलीबाटै गराउने तयारी गरेका छन् ।
खड्का मन्छियाम हाइड्रोपावर कम्पनीका अध्यक्ष पनि हुन् । बुढानीलकण्ठ र झापाको होटेलमा पाँच अर्ब लगानी गरेको बताइन्छ । यद्यपि उनी भ्रष्टाचारमा मुछिएका तथा विवादित व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*