धेरै पेशामा अनुभव गरेपछि बीमालाई जीवनको अभिन्न अंग बनाएकी संगिता बस्नेतको सफलताको कथा

राजन कठायत
२३ आश्विन २०८१, बुधबार १७:४०

काठमाडौं । जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँको ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेकी संगिता बस्नेत कार्की यतिबेला जीवन बीमा व्यवसायमा रमाइरहेकी छिन् । २०५९ सालदेखि विभिन्न वित्तीय क्षेत्रमा काम गरेर अनुभव बटुल्दै आएकी संगिता बस्नेत कार्कीलाई अभिकर्ता बन्दा मनमा उब्जेका हजारौं प्रश्नहरुलाई पन्छाउँदै सफलताको शिखर चुमिरहेकी छिन् ।

जिन्दगीका अनेकौं बाधा अड्चनलाई आत्मसाथ गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता संगिता बस्नेत कार्कीले आफ्ना पाइला नागरिकहरुको जीवन रक्षावरण गर्न अघि बढाएकी छिन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ त्यति नै अप्ठेरो व्यवसायिक सफलता प्राप्त गर्नमा छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले बस्नेत कार्कीलाई निकै सहयोग गरेको छ ।

भक्तपुर जिल्लाको सल्लाघारीमा बसोबास गर्दै आएकी संगिता बस्नेत कार्की अहिले सिटिजन लाइफ इन्स्योरेन्सको सूर्यविनायक शाखामा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । शुरूवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी संगिताले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान् नारीको रुपमा स्थापित गरेकी छिन् ।

सोलुखुम्बु जिल्लाको लिखु गाउँपालिकामा जन्मिएकी संगिताले सोही जिल्लाको सल्लेरी बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गरेकी छिन् । सानै उमेरदेखि काम र अध्ययनप्रति लगनशील रहेकी उनी २०५९ सालतिर काठमाडौं प्रवेश गर्छिन् । काठमाडौं प्रवेश गरेपछि बैवाहिक बन्धनमा बाधिन्छिन् ।

सहकारी, विभिन्न कर्पोरेट क्षेत्रमा लामो समय काम गरेकी संगिता आफ्नो साथि सुरेश बाबु जमरकट्टेलको सल्लाहमा २०८० साल चैत १ गतेदेखि अभिकर्ता पेशामा आवद्ध भएकी हुन् । उनी भन्छिन् ‘मैले धेरै क्षेत्रमा काम गर्दै गएँ । मैले आफै उत्पादन गरेर मखमल जुत्ता बिक्री गरिरहेको छु । कोरोनाको समयमा व्यवसाय थला परेपछि मेरो साथी सुरेशको सल्लाहमा अभिकर्ता पेशामा आवद्ध भएकी हुँ।’

अभिकर्ता पेशामा प्रवेश गरेको पहिलो महिनामा नै १० जना नागरिकको बीमा गरेर ‘हिरो अफ द मन्थ’ बन्न सफल भएको अनुभव सुनाउछिन् संगिता । ‘बीमा व्यवसाय एकदमै उत्कृष्ट पेशा हो । मानिसहरुलाई राम्रोसँग बुझाउन र सम्झाउन सक्यौं भने बीमा गराउन गाह्रो छैन ।’ उनी बताउछिन् ।

अभिकर्ता बनेपछि सबैभन्दा पहिला आफ्नो बीमा गरेर व्यवसाय सुरुवात गरेकी संगिताले निरन्तरको संघर्ष र कडा मिहिनेतका कारण दुई महिनाको अन्तरालमा नै सिल्भर क्लबमा क्वालिफाइड बन्न सफल भएकी थिइन् ।

‘कुनै समयमा काठमाडौं जस्तो व्यस्त सहरका मानिसहरुले समेत मलाई बीमाको कुरा गर्न चाहिँ नआउनू भन्थे । तर उहाँहरूलाई समयसमयमा भेटेर उहाँको मनोभावना बुझेर र उदाहरण देखाएर भएपनि बीमा गराएकी छु ।’

अन्य विभिन्न संस्थाहरुमा काम गर्दा माथिल्ला तहका कर्मचारीहरूको अधीनमा चल्नुपर्ने बाध्यकारी अवस्था छ, तर बीमा व्यवसायमा चाहिँ आफूले चाहेको समयलाई प्रयोग गरी काम गर्न सकिन्छ । ‘मसँग धैरे क्षेत्रमा काम गरेको अनुभव छ । तर बीमा अभिकर्ता पेशा भने नाफामुखी नभएर सेवामुखी छ । मलाई बीमा गरेर नागरिकहरुको जोखिम हस्तान्तरण गर्न पाउदा सन्तुष्टि मिल्छ ।’

सगरमाथा जिल्लाको सोलुखुम्बुमा जन्मिएकी संगिताले भक्तपुरलाई आफ्नो कर्मथलो बनाएकी छिन् । जीवनमा निरन्तर संघर्ष गरेकी उनले बीमा व्यवसायका साथै भक्तपुरमा मखमल जुत्ता समेत उत्पादन गरेर बिक्री वितरण गर्दै आएकी छिन् । उनी अरुलाई जुत्ता उत्पादन सम्बन्धी तालीम समेत दिन्छिन् ।

मखमल जुत्ता उत्पादन गर्ने कामभन्दा अभिकर्ता पेशा निकै राम्रो भएको उनको बुझाइ छ । ‘मखमल जुत्ता बनाउँदा मानिसहरुको अर्डर अनुसार बनाउन र बजारीकरण गर्न निकै समस्या छ । तर मलाई अहिलेसम्म गरेका काममध्ये अभिकर्ता पेशा निकै राम्रो लागेको छ । यस पेशामा कसैको अधीनमा बस्नु पर्दैन । यो पेशालाई मैले सेवामुलक भावनाले गरिरहेकी छु । म यसमा धेरै सन्तुष्ट छु । सफल पनि भइरहेकी छु। ’

बीमा क्षेत्रका केही गलत नियत भएका अभिकर्ताहरुका कारण आफुहरु जस्ता नयाँ अभिकर्ताहरुलाई बजारमा बीमा पोलिसी बिक्री गर्न केही असहज परिस्थिती रहेको उनको बुझाई छ । ‘मैले बीमाबारे धेरै अध्ययन गरे। अनि बीमितहरूको अनुकुल समयमा भेटघाट गर्थेँ । पहिला बीमितको धारणा बुझेपछि उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’

बीमाको महत्व नबुझेका कारणले पनि अझै बजारमा यसबारे अधिकांशको नकारात्मक धारणा रहेको बताउछिन् । ‘बीमा गराउन निकै कठिन छ । हामीले बीमा प्रस्ताव गरेका १०० जनामध्ये १० जनाले मात्र बीमा गर्छन भने बाँकी विभिन्न बाहाना बनाएर पन्छिन्छन् ।’ जब आफूले बीमा गराएको बीमितको घरमा दाबी भुक्तानी लिएर गइन्छ त्यो क्षण स्मरण गर्दा आफ्नो पेशाप्रति निकै सन्तुष्टि र गौरवान्वित महसुस हुन्छ ।

कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुलाई दिदैँ आएका कुनै पनि कार्यक्रम आफूले नछुटाएको उनको भनाई छ । ‘कम्पनीले दिएका तालिम, मोटिभेसनल प्रोग्राम, पुनर्ताजगी लगायतका कार्यक्रमले बीमा व्यवसाय गर्न बजारमा जाँदा धेरै सहयोग र हौसला मिल्ने गरेको छ । हामीहरुले नबुझेका कुराहरु कम्पनीले विभिन्न ट्रेनिङ दिएर सिकाउने गरेको छ ।’

महिला उद्यमीको परिचय बनाउन सफल भएकी उनले नागरिकहरुलाई बैंकमा बचत गर्नु भन्दा पनि बीमा गर्न प्रोत्साहन गर्दै आएकी छिन् । ‘बैंकले बचत मात्र दिन्छ तर बीमाले बचतका साथै रक्षावरण पनि दिने गरेको छ भन्दै सम्झाई बीमा गराउँने गरेकी छु।’ उनी बताउछिन् । समाजमा सकारात्मक र नकारात्मक सोचाइ भएका मानिसहरु छन् ।

सुरुवाति चरणमा डराएको संगिताको परिवारले बीमा व्यवसायको महत्व र उनको सफलता देखेपछि प्रफुल्लित भएका छन् । ‘शुरूवातमा परिवारले पनि बीमाबारे राम्रोसँग बुझेको थिएनन । बिस्तारै मैले बीमा व्यवसायबाट आर्थिक रुपले सम्पन्न हुँदै र विभिन्न कार्यक्रममा सम्मान पाउँदै गएपछि घरपरिवार पूर्ण साथ सहयोग दिएका छन् । मलाई मेरो सासु आमा (श्रीमानको आमा) ले सबैभन्दा बढी साथ सहयोग र हौसला दिदै आउनु भएको छ ।’

करिब २२ वर्षको अवधि वित्तीय लगायतका कर्पोरेट क्षेत्रमा बिताएकी संगिताको बीमा अभियानले जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका बस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ ।

आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्र फराकिलो बनाउदै अगाडि बढ्ने प्रतिबद्धता र आत्मविश्वास रहेको उनी बताउछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*