‘बाढी पहिरो बीमा सचेतनाका लागि अवसर हो’

२२ आश्विन २०८१, मंगलवार १९:४३

काठमाडौं । अविरल बर्षाको कारण आएको बाढी पहिरो बीमा सचेतनाका लागि अवसर रहेको बीमा कम्पनीका सिईओहरुले बताएका छन्।

प्राकृतिक प्रकोपको विपत्तिको घटना बीमा कम्पनीहरुको लागि चुनौतका साथ– साथै अवसर पनि रहेको बीमकहरुले बताएका हुन् ।

नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको कार्यक्रममा बीमा कम्पनीका सिईओहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।

हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा लागि बीमा कम्पनीहरुलाई सहज र सरल रुपमा बीमितहरुको मर्का बुझँदै बीमा दाबी भुक्तानीमा सरलीकृत गर्न निर्देशन दिईसकेको छ। सो अनुरुप विपदको घडीमा बीमा कम्पनीहरुले सोहि अनुरुप काम गर्दै आईरहेका छन् ।

कार्यक्रममा शुभकामना दिँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबैको सहयोग आवश्यक रहेको बताएका छन् । यस विपद्को घडीमा बीमा क्षेत्रको लागि बीमा सचेतना ठूलो अवसरको रुपमा परिणत हुन सक्ने जानकारी दिए ।

अध्यक्ष सिलवालले भने, “बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ, क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो, कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्छ ।”

अध्यक्ष सिलवालले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले स्वागत मन्तव्य व्यक्त गँदै बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले दशैंको शुभकामना व्यक्त गर्दै, बाढी पहिरोले देशभर पुर्याएको क्षतीमा बीमा कम्पनीहरुले सहज रुपमा दाबी दिन सके बीमाको सकारात्मक सन्देश सम्पूर्ण जनतामा पुग्ने र बीमा कम्पनीका लागि ठूलो अवसर हो भन्ने धारणा व्यक्त गरेका थिए।

सिद्धार्थ प्रिमियमरका सिईओ विरेन्द्र वैदवारले भुकम्पपछि बीमालाई थप सचेतना गर्ने यो अवसर रहेको बिषय उल्लेख गर्दै प्राधिकरणलाई डकुमेन्टेसनमा सहजीकरण गर्न समेत आग्रह गरे ।

सानिमा जिआईसीका सिईओ सुधुमन उपाध्यायले सम्रग निर्जिवन बीमा क्षेत्रको लागि यतिबेला प्रेसरको समय छ, यतिबेला नै हाम्रो सकारात्मक पहिचान देखाउने बेला हो भन्ने अभिव्यक्ति दिएका थिए।

जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले दशैमा आशिषको साथ–साथै सुरक्षा कवच गर्ने बीमाको सचेतना होस् भन्ने आश्यका साथ दशैं शुभकामना व्यक्त गरे ।

विपदको घडीमा जीवन बीमा कम्पनीहरुमा आएको बीमा दाबी भुक्तानी यथाशिघ्र रुपमा छिटो दिएर यो बेला बीमाको सकारात्मक अवसर समेत दिन सक्ने समय आएको बिषय राखेका थिए ।

नेपाल लाइफका सिईओ प्रविण रमण पराजुलीले बाढी पहिरो बीमा क्षेत्रको चुनौतीलाई सकारात्मक रुपमा लिन सके सम्रग बीमा क्षेत्रको लागि उर्जाशील हुनेमा विश्वस्त रहने बाटो हुने धारणा राखेका थिए ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले गरेकी थिईन् ।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र लघु बीमक संघका अध्यक्ष, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*