गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्ट–२०८१ सम्पन्न

२१ आश्विन २०८१, सोमबार ०९:५९

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्ट (पाँचौं संस्करण– २०८१) पोखरामा सम्पन्न भएको छ ।

उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथ वित्तीय संस्थाका पुरुषतर्फ ३० समूह र महिलातर्फ १७ समूह गरी कुल ४७ समूहको सहभागिता रहेको थियो । पोखराको गणेशटोलस्थित स्पोर्टस्रक्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज १७, १८ र १९ गते गरी ३ दिनसम्म चलेको थियो ।

प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई १–० गोल अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको थियो । त्यसैगरी पुरुषतर्फ एभरेष्ट बैंक र कृषि विकास बैंकबीचको फाइनल खेल निर्धारित समयमा १–१ को बराबरी भएपछि टाई ब्रेकरमा एभरेष्ट बैंकले कृषि विकास बैंकलाई हराउदै उपाधि जित्न सफल भएको थियो ।

प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी मनिषा कुँवर र विनिता पराजुली तथा नविल बैंककी कुसुम सारु मगरले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पुरुषतर्फ कृषि विकास बैंकका जिवराज बमले उत्कृष्ट खेलाडी, गरिमा विकास बैंकका सुरेश थापाले सर्वाधिक गोलकर्ता तथा एभरेष्ट बैंकका सुवास काफ्लेले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए ।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक बिना ढकाल पौडेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका महासचिव कृष्ण प्रसाद खराल, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका उपनिर्देशकहरु रञ्जना शर्मा, ऋषिराम ढकाल, सुदीप त्रिपाठी तथा बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक हरी ढकालको उपस्थिति रहेको थियो ।

उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गरेका थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका महासचिव कृष्ण प्रसाद खराल प्रतियोगिताको प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*