नेपाल र बंगलादेशबीच विद्युत विक्री सम्झौता ऊर्जा क्षेत्रमा नयाँ युगको शुरुवात: इप्पान

२० आश्विन २०८१, आईतवार १२:२९

काठमाडौँ । नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौता (पीएसए) लाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ। ऐतिहासिक मानिएको यस सम्झौता काठमाडौंमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, र बंगलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्पन्न भएको हो।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत व्यापार निगमका प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे। यो सम्झौताले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा ऐतिहासिक परिवर्तन ल्याएको छ।

यो सम्झौता नेपालको विद्युत व्यापारमा नयाँ युगको सुरुवात मानिएको इप्पानले जनाएको छ। सन् २०१४ मा नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता ९पीटीए० भएकोमा हाल बंगलादेशसँगको यस सम्झौताले नेपालको विद्युत बजारलाई थप विस्तार गरेको छ।

बंगलादेशले सन् २०३९ सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्ने लक्ष्य राखेको छ, भने नेपाल सरकारले आगामी १० वर्षभित्र ५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजना बनाएको छ। यसलाई कार्यान्वयन गर्न नेपालका निजी क्षेत्रहरू पनि पूर्ण रूपमा तयार रहेको इप्पानले जनाएको छ।

इप्पानले निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका र योगदानलाई ध्यानमा राख्दै, नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता पूर्णरूपमा खुला गर्नुपर्ने माग गरेको छ। साथै, ऊर्जामा थप लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्न र सरकारद्वारा ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

बंगलादेशसँगको यस सम्झौताले निजी क्षेत्रबीच सहकार्य र साझेदारीका अवसरहरू पनि बढाएको छ। बंगलादेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आह्वान गर्दै, नेपालका निजी क्षेत्रले निर्माण, परामर्श, उपकरण आपूर्ति जस्ता क्षेत्रमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको इप्पानले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*