प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

२० आश्विन २०८१, आईतवार ०९:३८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हालै भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ । उक्त विषम परिस्थितको सामना गर्न राहत कोषमा सहयोग रकम जम्मा गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका हुन् ।

गत असोज ११ गतेदेखि भएको अविरल वर्षाका कारण कम्तीमा २३६ जनाको मृत्यु, १७३ जना घाइते, १९ जना बेपत्ता भएको र १७ हजार १२० जनाभन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले बाढी पहिरो पीडितका लागि ३१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरिसकेको छ । त्यस्तै केही दिन अघि ललितपुरमा नख्खुखोलाले बगाएको केही व्यक्तिलाई बचाउने चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफले कदरस्वरूप ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार रुपैयाँ नगदले सम्मान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*