अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

१८ आश्विन २०८१, शुक्रबार १७:४१

काठमाडौँ । अग्रवाल सेवा केन्द्रले ५१४८औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाडौँका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए ।

केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । यो वर्ष सामुदायिक विद्यालयका १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक उपलब्ध गराइएको जालानले जानकारी दिए । अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८ औँ जन्म जयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।

केन्द्रले शिक्षा क्षेत्रका विभिन्न ९ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ । कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतान लगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*